अचम्म ! ज्ञानेन्द्र शाहलाई उडाउँदा सन्तोष पन्त पनि मक्ख, तर सस्तो जोक्सले खस्काउँदै छ कमेडी च्याम्पियन
काठमाडौँ : कमेडी च्याम्पियनको तेस्रो सिजनको सुपर ३० को पहिलो एपिसोड र नेपाली फिल्मको ट्रेलर उस्तै देखियो। पहिलो एपिसोड बबाल ट्रेलर जस्तै। प्रसारण भएका बाँकी दुई एपिसोड चैँ झुर फिल्म जस्तै।
सुपर ३० को पहिलो एपिसोडका ६ मध्ये ड्याम्मै ५ जनाले गोल्डेन बजर पाएर सुपर १६ मा प्रवेश पाएका थिए। त्यसपछिका एपिसोडमा गोल्डेन बजर पाउनेहरू कम हुँदै गए। एक त जजहरूलाई अहो हामी धेरै हौसिएछौँ भन्ने अनुभव भएर पनि हुनसक्छ। सँगै, प्रतियोगिहरुको फिक्का प्रस्तुति पनि कारण हुनसक्छ।
तर सुपर ३० को तीन एपिसोडमध्ये लामो समयसम्म प्रतियोगितामा टिक्न सक्नेहरू पहिलो एपिसोडमै देखिए। त्यसपछिकामध्ये सुयशा खनालले राम्रो सम्भावना देखाइन।
कमेडी च्याम्पियनका सिजनहरू हेर्दा प्रस्ट हुन्छ राजतन्त्र अनि राजाबारे सामान्य व्यङ्ग्य गर्दा पनि निर्णायक सन्तोष पन्तको अनुहार बिग्रिहाल्छ। उनको मुहार उज्यालो बनाउन अहिले गणतन्त्र अनि अहिलेको नेतालाई गाली गर्नुपर्छ। क्या उज्यालो हुन्छ त्यो बेलामा उनको अनुहार। कट्टर राजावादी देखिन्छन् उनी।
तर छक्क! पूर्व राजा ज्ञानेन्द्र शाहलाई ब्यङग्य हानेको क्यारिकेचर मन पराएर प्रेम विश्वकर्माले गोल्डेन बजर पाए। जसमा, जुन उमेरमा पनि परिवर्तन सम्भव छ भन्ने पन्तले पुष्टि गरे।
प्रसङ्ग सन्तोष पन्तकै। प्रतिष्पर्धीहरुले निर्णायकलाई रोस्ट हान्न पाएनन् भने प्रदीप भट्टराईको बाइक प्रसंग ल्याइदिन्थे। यो पालीबाट भने यो मौका दिएनन् उनले। गाडीमा प्रमोसन भइदिए। अर्को सजिलो रोस्ट सन्तोष पन्तको मदिरा प्रेम।
पन्तको मदिरा प्रेमलाई च्याम्पियनको सिजनमा यति धेरै प्रतियोगीले रोस्ट हाने ती कुनैमा उनी हाँसेको देखिएन। ठुस्स परेर बसे कुर्सीमा। तर सबैभन्दा कान्छी प्रतियोगी भनिएकी सुयशाले चमत्कार गरिन्। उनले पन्तको मदिरा प्रेमलाई जोडेर गरेको रोस्ट उनलाई यति मन पर्यो कि पुरै प्रस्तुति नै नसकिई बिचैमा गोल्डेन बजर बजाएर उनलाई सुपर १६ मा पूर्याइदिए।
उनको रोस्टमा अपमान शैली हैन व्यङ्ग्यात्मक चेत थियो। सभ्य रूपमा भव्य उडाएकी थिइन पन्तलाई। सभ्य रूपमा व्यङ्ग्य गर्यो भने त मन पर्ने रहेछ त।
बिचबीचमा थर्डक्लासको ननभेज जोक्स् मिसाउन छाडेका छैनन्। निर्णायकमध्येकी ऋचा सधैँ मुख बिगारिइरहन्छिन् डबल मिनिङका जोक्समा। न त्यसमा पञ्चलाइन छन् न सुन्दरता। न त त्यसले प्रतियोगीको अङ्क नै बढाएको छ। तै पनि बिच्चबिच्चमा दिइराखेका छन् भद्दा जोक्स।
यो चैँ पक्कै निर्माता विशाल भण्डारीकै काम होला कार्यक्रम सबै वर्गमा पूर्याउन। उनलाई कमेडी क्लब विथ च्याम्पियन्समा कैलाशमार्फत डबल मिनिङको जोक्स हान्न लगाएर शो हिट भएको ह्याङले अझैँ छाडेको देखिएन। यस्तै पाराले निरन्तरता पाउने हो भने मुख बिग्रिनेक्रम ऋचाबाट दर्शकमा आइपुग्न बेर लाग्दैन।
फागुन १८, २०८० शुक्रबार २३:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।