एनसेल र इएन्ड इन्टरनेसनलबीच समझदारी
काठमाडौँ : उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ। बार्सिलोनामा बुधवार भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङलगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा सहकार्य गर्नेछन्।
यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चालनमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दुरीको व्यवसाय र डिजिटल सोलुसन बढाउन महत्त्वपूर्ण हुने एनसेलले जानकारी छ।
यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी नतिजा प्रदान गर्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ।
जाब्बोर कायुमोभले ईएन्ड इन्टरनेसनलसँगको रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेक बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई धेरै अवसरका साथ सशक्त बनाउने उनले बताए।
ईएन्ड इन्टरनेसनलका साथै एनसेलका ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आफ्ना सेयर धनी, व्यावसायिक साझेदार र सम्पूर्ण दूरसञ्चार क्षेत्रको प्रगतिमा योगदान पुर्याउन आफूहरू तयार रहेको उनले बताए।
ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणका लाभ दिलाउने नयाँ अध्याय भएको बताए। ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एटिसलाट ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एक अंश हो।
फागुन १८, २०८० शुक्रबार २२:२६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।