हलमा लाग्दालाग्दै फिल्म ‘अगस्त्य च्याप्टर १’ को पुन सम्पादन, नयाँ भर्सन शनिवारबाट

हलमा लाग्दालाग्दै फिल्म ‘अगस्त्य च्याप्टर १’ को पुन सम्पादन, नयाँ भर्सन शनिवारबाट

काठमाडौँ : अपराध अनुसन्धानलाई मूल विषय बनाएर निर्माण भएको फिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर अनि ट्रेलर हेरेर हलमा पुगेका दर्शक कन्फ्युज हुन्छन्' त्यो ट्रेलर यही फिल्मको हो त!' एक घण्टा दर्शकलाई हलमा टिकाउन हम्मे पर्छ नेपाली फिल्मले। यो झण्डै तीन घण्टा लामो छ।

फिल्मबारे सौगात मल्लदेखि धेरैले सकारात्मक प्रतिक्रियाको आश गरेको देखियो। कथा, चरित्र, सिनेमाटोग्राफी सबैमा राम्रो हुँदाहुँदै पनि फिल्म वाह नबनेको बिहीबारको प्रिमियरबाटै थाहा भइहाल्यो। फिल्ममा नराख्दा पनि फरकै नपर्ने दृष्यहरु राख्ने लोभले फिल्मलाई दिक्क लाग्दो बनेको थियो। 

प्रिमियर हेरेका फिल्मका जानकारहरूले विषयवस्तु राम्रो भए पनि फिल्म अनावश्यक तन्काउँदा अनि खिचेको जति सबै दृश्य अटाउने निर्देशकको लोभका कारण हाफ टाइमसम्म पनि दर्शक टिक् नसक्ने टिप्पणी गरेपछि निर्माण टिम झस्किने नै भए।

शुक्रवार हलमा फिल्म रिलिज हुँदै थियो। निर्माण टिमले कमजोरी स्विकार गर्दै बिहीबार बेलुकाबाटै फिल्म पुन सम्पादनमा खटियो। बिहीबार रातभर सम्पादन गरे पनि फिल्मको नयाँ भर्सन शुक्रवार रिलिज हुन सकेन। 

निर्माण टिमका एक सदस्यका अनुसार पुन सम्पादनसहितको फिल्म शनिवारबाट हलमा लगाउने निर्माण पक्षको तयारी छ। कथा, पटकथा अनि पात्रको अभिनय राम्रो छ नै। पुन गरिएको सम्पादनमा फिल्म चुस्त बनाउन निर्माण टिम सफल भएको हो भने शुक्रबारको सुस्त अकुपेन्सी शनिबारबाट बढ्न सक्छ।

हैन मैले खिचाएको दृष्य राख्नै पर्छ भनेर अझैँ लोभ गरेर पुन सम्पादनमा पनि लोभ गरेको भए सौरभ चौधरीले मिहेनत गर्दागर्दै अनावश्यक लोभले फिल्म डुबाएको अपजस आउने पक्का छ। २ घण्टा ५० मिनेट लामो फिल्म २ घण्टा ३० मिनेटसम्म झारेको हो भने फिल्मले पिकअप लिने सम्भावना राम्रो छ है।

फागुन १८, २०८० शुक्रबार २१:३५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।