राष्ट्रिय सभामा कांग्रेस-माओवादी आमनेसामने भए एमाले निर्णायक, भत्कन सक्छ गठबन्धन

काठमाडौं : नेपाली कांग्रेसलाई छाडिसकेको राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णयसँगै एमाले निर्णायक शक्ति बनेको छ। माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि पार्टीकै नेताहरूले पत्याएको भने देखिएन।
यदि माओवादी निर्णयबाट पछाडि नहटे सरकारको मुख्य सहयोगी कांग्रेसको उम्मेदवारसँग उसको प्रतिस्पर्धा हुने देखिन्छ। राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीका उम्मेदवार प्रतिस्पर्धी भएमा एमालेको मत माओवादीका लागि निर्णायक हुनेछ।
२०७९ मंसिर ४ को निर्वाचनपछि सत्ता गठबन्धन बदलेर एमालेसहितको सहभागितामा सरकार बनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिँदा गठबन्धन बदलिएको थियो। राष्ट्रिय सभा निर्वाचनमा उसले अध्यक्ष पदको दाबेदारी नछाडे गठबन्धन बदलिने जोखिम पनि उत्तिकै छ।
राष्ट्रिय सभा निर्वाचन अगाडि नै कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई अध्यक्ष बनाउन प्रचण्डको सहमतिपछि नै सिटौला उम्मेदवार बनेको कांग्रेसका नेताहरूले दाबी गर्दै आएका छन्। कांग्रेसको दाबी अनुसार वचन दिएर पनि प्रचण्ड ब्याक भएको अवस्थामा राष्ट्रिय सभाको अध्यक्ष पद कांग्रेसका लागि प्रतिष्ठाको विषय बन्न सक्छ।
त्यो बेलामा कांग्रेससँगको विकल्प एमालेसहितको मत लिनु बाहेक अर्को विकल्प देखिन्न। यो बेलामा एमालेले सत्ता गठबन्धनलाई विषय बनाउन सक्छ।
राष्ट्रिय सभाको संरचनामा कांग्रेसले उम्मेदवारी दिँदा एमालेको साथ अनिवार्य देखिन्छ। राष्ट्रपतिले मनोनीत गर्ने एक सिट रिक्त रहेकाले अहिले राष्ट्रिय सभामा ५९ सिट रहेको छ।
५९ मध्ये माओवादी माओवादी १७ सिटसहित पहिलो दलको रूपमा छ। राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल जोड्दा १८ हुन्छ माओवादीको। कांग्रेसबाट १६ सांसद छन्। एमाले १० सिटसहित तेस्रो दल छ। एकीकृत समाजवादी ८, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी १ र जनमोर्चाबाट एक सदस्य छन्।
बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्। विमला राई पौड्यालको ठाउँमा राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ।
एमाले र माओवादी एकातिर भएमा २८ सिट एकातिर हुनेछ। उनीहरूलाई जसपाले मात्र साथ थिए पनि आवश्यक मत पुग्छ नै। यता कांग्रेसलाई माओवादी र एमाले मिलेमा अन्य सबै दलको मत आउँदा पनि जितका लागि आवश्यक ३० मत पुर्याउन मुस्किल पर्छ। कांग्रेस १६ सहित एकीकृत समाजवादी जसपा, लोसपा र जनमोर्चासहित बामदेव गौतम र राष्ट्रपतिबाट मनोनीत हुने महिला सदस्यको पनि मत पाएमा जित्नेछ।
मन्त्रिपरिषद्को सिफारिसमा मात्र राष्ट्रपतिले रिक्त महिला सदस्यमा मनोनीत गर्न सक्छन्। माओवादी र कांग्रेस नै आमनेसामने भएको अवस्थामा प्रचण्डले कांग्रेसलाई सहज हुने गरी सिफारिस गर्ने सम्भावना कम छ नै। पहिलाकै सहमति पालना हुने हो भने जनमोर्चाबाट दुर्गा पौडेलको नाम सिफारिस हुनेछ।
कांग्रेसबाट सिटौला, माओवादीको को?
कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिँदा कृष्ण सिटौला उम्मेदवार हुने पक्का छ। तर माओवादीले उम्मेदवार दिने निर्णय गरे पनि उम्मेदवार भने तय गरिसकेको छैन।
अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल छिन्। अध्यक्षमा उम्मेदवारी दिँदा नारायण दाहाल वा सुरेश आले मगरले प्राथमिकता पाउन सक्छन्। अर्याललाई उपाध्यक्ष पदबाट राजीनामा गराएर अध्यक्षको उम्मेदवार बनाउन पनि सक्छ माओवादीले। त्यसो हुँदा उपाध्यक्ष एमालेलाई दिन सक्छ माओवादीले।
राष्ट्रपति निर्वाचनताका एमाले र माओवादीबीच बढेको विवाद गठबन्धन बदलिनुको मूल कारण थियो नै। राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र माओवादी आमनेसामने भएको अवस्थामा गठबन्धन भत्कन सक्ने जोखिम भएकाले माओवादीले उम्मेदवारी दिनेमा अझै माओवादीभित्रका नेताहरू विश्वस्त नदेखिएकाले पार्टीले उम्मेदवारी दिने निर्णय गरिसके पनि खुल्ला दावेदारी आएको छैन।
फागुन १८, २०८० शुक्रबार १५:४९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।