नामकै कारण ‘रंगेली’को सेन्सर रोकियो, फिल्मकर्मी भन्छन्- ‘सेन्सरबोर्ड पाकेको पिलो भो’

नामकै कारण ‘रंगेली’को सेन्सर रोकियो, फिल्मकर्मी भन्छन्- ‘सेन्सरबोर्ड पाकेको पिलो भो’

काठमाडौं : नेपाली फिल्मकर्मीलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पाकेको पिलो झैँ बन्न थालेको छ। फागुन २५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रंगेली’को नाममा आपत्ति जनाउँदै सेन्सर पास नगरेपछि फिल्मकर्मीले यसलाई पाकेको पिलो भन्न थालेका छन्।

फिल्मको नामका कारण पछि समस्या उत्पन्न हुने भन्दै बोर्डले निर्मातालाई सेन्सर पासको प्रमाणपत्र दिन नसकेको जनाएको छ।

समितिमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका सदस्य एकदेव अधिकारीले स्थानीय सरकारसँग फिल्म छायांकनको अनुमति पत्र ल्याएपछि मात्र सेन्सर पासको प्रमाणपत्र दिने बताए।

उनले भने, ‘रंगेली नगरपालिकामा फिल्म खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न खोजेको र छायांकन भएको स्थानको सहमति पत्र ल्याएपछि मात्र प्रमाणपत्र दिन्छौंँ।’

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । सेन्सर बोर्डले यसअघि थुप्रै फिल्ममा कैँची लगाएको छ।

सोही मितिमा प्रदर्शनमा आउने फिल्म ‘काँडेतार’लाई पनि केहि संवाद र दृश्यमा आपत्ति जनाएको थियो। पछि निर्माण टिमले फिल्मको केहि संवाद र दृश्य हटाएपछि मात्र सेन्सर पासको पत्र दिएको थियो।

फिल्म निर्देशक तथा स्क्रिप्ट डाक्टर मनोज पण्डितले फिल्मकर्मीमा लागि सेन्सर बोर्ड पाकेको पिलो भएको बताएका छन्। ‘सेन्सरबोर्ड फिल्ममेकरका लागि पाकेको पिलो भएको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

अहिले नाममा नै फिल्मको सेन्सर पास हुन छाडेको भन्दै सामाजिक सञ्जालमार्फत सेन्सर बोर्डको चर्को आलोचना भइरहेको छ।

फागुन १८, २०८० शुक्रबार १४:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।