क्यान्सरपीडित नक्कली प्रचण्डको गुनासो : सिरियल खेलेकै ४ लाख उठ्न बाँकी छ, लाख दिन्छु भन्ने सम्पर्कमै छैनन्

क्यान्सरपीडित नक्कली प्रचण्डको गुनासो : सिरियल खेलेकै ४ लाख उठ्न बाँकी छ, लाख दिन्छु भन्ने सम्पर्कमै छैनन्

काठमाडौं : एक समय सिरियल होस् या नाटक घनश्याम गौतमको व्यस्तता अत्यधिक थियो। रेडियो नेपालका नाटक हुँदै सिरियल तथा फिल्ममा अभिनय गरेका गौतमले सयौं सिरियलमा पनि अभिनय गरेका छन्।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हुबहु क्यरिकेचर गरेर नक्कली प्रचण्डले परिचित गौतम यतिबेला अस्पतालको शय्यामा उपचारत छन्।

चर्चाका आउँदा भ्याएजति सिरियल र गीतमा अभिनय गरे पनि दुःखमा पर्दा कसैले कामको पैसा नदिएको उनको गुनासो छ।

‘अफर आए जति र आफूले भ्याएजति सिरियलमा काम गरेँ,’ उनले भने, ‘सडक नाटकदेखि स्कुलमा पनि सिकाएँ। तर, म यस्तो अवस्थामा पुग्दा समेत कसैले पैसा दिने कुरै गरेनन्।’

कलाकार गौतम सिरियल, नाटक खेल्न छाडेको एक वर्ष भइसक्यो। ग्यास्ट्रिकको उपचार गर्ने क्रममा आन्द्रामा क्यान्सर भेटिएपछि उनी यसैको उपचारमा छन्।

उपचार खर्च महँगो भएकाले आफूले रकम पाउनुपर्ने संघसंस्था र निर्माता तथा निर्देशकलाई फोन घुमाइरहन्छन्। तर, उनको फोन न संस्थाले उठाउँछ न निर्माताले नै। फोन उठाइहाले पनि भोलि भेटौंला है भनेर टार्ने गरेको उनको भनाइ छ।

गौतमको उपचारको लागि विभिन्न संस्थाहरूले बेला-बेलामा सहयोग गर्दै आएका छन्। तर, आफैँले काम गरेको चार लाखभन्दा बढी रकम उठ्न नसकेको उनको भनाइ छ।

‘मैले सिरियलमा खेलेको नै कति लिन बाँकी छ। नाटक खेलेको र स्कुलमा सिकाएको पनि थुपै्र लिन बाँकी छ,’ उनले भावुक हुँदै भने, ‘सरदर चार लाखभन्दा बढी मैले पाउनुपर्ने छ। निर्देशकलाई फोन गर्दा फोन नै नउठाउने, उठाए पनि ल्याइदिन्छु भन्ने गर्छन्। अहिले त सम्पर्कविहीन भएका छन्।’

क्यान्सरको औषधोपचार महँगो पर्ने हुँदा आफूले पाउनुपर्ने रकम दिन उनले उकेरामार्फत नै आग्रह गरेका छन्।

‘दिन्छु दिन्छु भन्नुहुन्छ तर दिनुहुन्न,’ उनी भन्छन्, ‘काम गरेको पारिश्रमिक त पाइँदैन। अरु त के आश गर्नु, हैन र?’

भैपरी आउँदा एक लाख रुपैयाँसम्म सहयोग गर्ने भन्दै विश्व कलाकार महासंघले ११ हजार १११ रुपैयाँ लिए पनि अहिले संस्थाले सहयोग नगरेको उनको भनाइ छ।

विश्व कलाकार महासंघका अध्यक्ष आर के सुवेदी हुन्। उनले थुप्रै कलाकारहरूलाई भैपरी आउने दुर्घटनामा एक लाखभन्दा बढि रकम आउँछ भन्दै सदस्यता बनाएका छन्।

तर, कलाकारलाई समस्या पर्दा उनी छेवै नपर्ने गरेको कलाकार गौतमले गुनासो छ।

फागुन १८, २०८० शुक्रबार ११:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।