पश्चिमा देशले साथ नछाडे युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्।
रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दै कडा आलोचना गरे।
साथै उनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहे रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि चेतावनी दिए।
आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने समेत उनले स्पष्ट पारेका छन्। रुस आणविक हतियारले सुसज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी पनि दिए।
उनले भने, ‘पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका छन्।’
रुसले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताउँदै युक्रेनमा भइरहेको युद्ध जित्ने योजनामा केन्द्रीत भएको बताए।
पुटिनले मार्च १५ देखि १७ सम्म हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा पनि जनतासँग भोटका लागि अपिल गरेका थिए।
फागुन १८, २०८० शुक्रबार ०८:३१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।