फिल्मको प्रिमियरमा कलाकारै दुर्लभ ! भन्नै छाडे 'दामी छ'
काठमाडौँ : पछिल्लो समय फिल्मको प्रिमियरमा नाम चलेका कलाकारहरूको भिड लाग्न छाडेको धेरै भयो। शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को प्रिमियरमा पनि त्यही भयो। तीन वटा हल भरिएका थिए, तर कला क्षेत्रका परिचित अनुहार कमै देखिन्थेँ।
प्रिमियरमा दीपाश्री निरौला,निर्मल शर्मा,प्रदीप भट्टराई,रवीन्द्र सिंह बनियाँ,सन्तोष सेन लगायत केही नाम चलेका कलाकार र निर्देशक नआएका भने हैन। तर फिल्मबारे प्रतिक्रिया दिन भने चाहेनन्।
अतिथिको कुरै छाडौँ, प्रिमियरमा अभिनय गरेकै कलाकार नआएर निर्माता हैरान हुनेक्रम पनि सुरु भइसक्यो। तर अगस्त्यको प्रिमियरमा फिल्मका मुख्य कलाकार उपस्थित थिए। फिल्मबारे प्रतिक्रिया दिन तम्सिएका थिए।
फिल्म हेरिसकेपछि पत्रकारले तपाईँलाई आफ्नो फिल्म कस्तो लाग्यो भनेर सौगातलाई प्रश्न गरेका थिए। उनले सधैँ झैँ आफूलाई आफ्नो फिल्म खासै मन नपर्ने जवाफ फर्काए। तर वरपरका दर्शकको प्रतिक्रिया सकारात्मक लागेको बताए। नाजिरले धेरैपछि ठुलो पर्दामा आफ्नो थोपडा हेेर्दा मजा लागेेको बताए। उनी पाँच वर्षपछि फिल्ममा फर्किएका हुन्। मलिका महत खुसी छु भनिरहेकी थिइन्।
फिल्म २ घण्टा ५० मिनेट लामो छ। फिल्म हेरेका अधिकांशले फिल्म अलि लामो भएको प्रतिक्रिया दिए। उठाउन खोजेको विषय ट्वाक्क भएको भए राम्रो हुन्थ्यो भन्ने सुनियो। सौगातको गेटअप र नाजिरको अभिनय प्रिमियरका दर्शकले मन पराए। अब शुल्क तिरेर हेर्ने दर्शकले मन पराउलान् त!
फागुन १८, २०८० शुक्रबार ०१:०३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।