दर्शकतर्फ अश्लील इसारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध, किन गरे त्यस्तो इसारा?

दर्शकतर्फ अश्लील इसारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध, किन गरे त्यस्तो इसारा?

एजेन्सी : विश्वस्तरीय स्ट्राईकर क्रिस्टियानो रोनाल्डोमाथि साउदी अरबको लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ। दर्शकमाथि अश्लील इसारा गरेको भन्दै उनीमाथि एक खेलको प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अल नासर र अल-सबाबबीचको खेलका क्रममा उनले दर्शकतिर फर्केर अश्लील इसारा गरेका थिए। उनले स्टार खेलाडी लियोनल मेसीलाई जोडेर अश्लील इसारा गरेपछि एक खेलको प्रतिबन्ध लाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

अर्जेन्टिनी स्टार मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन्। मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु हुनुअघि इन्टर मियामी एसिया भ्रमणमा आएको थियो।

इन्टर मियामीको एसिया भ्रमणका क्रममा मेस्सीले साउदी अरेबियामा रोनाल्डोको क्लबसँग पनि मैत्रीपूर्ण खेल खेलेका थिए। तर, घाइते भएका कारण उक्त खेलमा रोनाल्डो सहभागी थिएनन्।

अल नासर र अल-सबाबबीचको खेलमा विपक्षी समर्थकले मेस्सीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए। त्यसपछि आक्रोशित बनेका रोनाल्डोले अल-सबाबका समर्थकतर्फ फर्केर अस्वाभाविक इसारा गरेका हुन्।

त्यसपछि अल-सबाबका समर्थकले रोनाल्डोलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए।

रोनाल्डोको हर्कत लाजमर्दो भएको भन्दै साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेल प्रतिबन्ध गर्नुको साथै उनलाई १० हजार साउदी रियाल जरिवाना समेत गरेको छ। उनको क्लब अल नासारलाई पनि रोनाल्डोको हर्कतका कारण २० हजार रियाल जरिवाना गरिएको छ।

अल-सबाबलाई ३-२ गोलअन्तरले हराएको खुसियालीमा उक्त घटना भएको र यो कसैप्रति लक्षित नभएको रोनाल्डोले अनुशासन समितिलाई जवाफ दिएका छन्।

समितिले रोनाल्डोलाई उक्त घटनाको विषयमा मौखिक जवाफ मागेपछि रोनाल्डोले फुटबलमा खुसी मनाउँदा कहिलेकाहीँ यस्ता खाले घटना हुने गरेको तर्क गरेका छन्।

रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन्।

उनी सन् २०२२ को विश्वकप फुटबलपछि म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका हुन्।

१७ फागुन, २०८०, १९:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।