म्युजिकल फिल्म बनाउने लोभमा निर्देशक ज्ञानेन्द्र ‘उपहार’को कथामा चिप्लिएका त छैनन्!
काठमाडौँ : बिहीबार सार्वजनिक ‘कहिले गते बिर्सिन्छु, कहिले बार बिर्सिन्छु’ बोलको गीतसँगै फिल्म उपहार रिलिज हुनुभन्दा अगाडि नै तीन वटा गीत सार्वजनिक भइसक्यो। फेमिली ड्रामाको कथामा बनेको दाबी गरिएको फिल्मको तीन वटै गीत प्रेमिल छन्।
फिल्ममा एक हैन तीन नायिका छन् रेखा थापा, पूजा शर्मा अनि बेनिशा हमाल। नायिकासँगै नायक पनि तीन वटै छन्। सार्वजनिक भएका तीन वटै गीतमा तीन जनै नायिका फिचर्ड छन्। सार्वजनिक भएका गीतहरू फिल्ममै समावेश गीत हो या कुनै फिल्म प्रमोसनका लागि प्रयोग गरिएको मात्र भन्ने खुलेको छैन।
फेमिली ड्रामा त भयो नै सँगै रेखाले ‘उपहार’ लाई म्यूजिकल फिल्म बनाउन खोजेको हो कि जस्तो भने देखिन्छ। सार्वजनिक भएका फिल्मका गीतहरू सुमधुरसँगै डान्सिङ नम्बरका छन्।
फिल्मबारे निर्माण टिमले गरेको दाबी अनुसार फिल्ममा तीन गीत मात्रै छैनन् भन्ने देखिन्छ नै। गीत टन्नै राख्ने तर कथासँगै कतै नजोडिने समस्या नेपाली फिल्म क्षेत्रको सबैभन्दा कुरूप कमजोरी हो। कथासँगै बग्दै जाँदा समयसापेक्ष रूपमा गीत फिट भएमा दर्शकले झ्याउ मान्ने अवस्था आउने थिएन। तर एकातिर कथा बगिरहेको हुन्छ अनि बिचमा छ्यास्स अर्थ न बर्थले गीत घुसाउँदा दर्शकले रुचाउन सक्ने फिल्म पनि फ्लप भएको सङ्ख्या टन्नै छन्।
फिल्मको निर्देशक ज्ञानेन्द्र देउजा पारिवारिक कथामा हेर्न लायक फिल्म बनाउन सफल निर्देशककै रूपमा परिचित छन्। अहिलेको पुस्ताको फिल्म स्वाद बदलिए पनि उनले फिल्ममा बढो मजाको मेलोड्रामा घुसाउन सक्छन्। त्यसको अब्बल उदाहरण त फिल्म ‘झिँगेदाउ’ को सफलता नै हो। त्यसकै आधारमा उनले म्यूजिकल बनाउने लोभमा कथै भड्किने गरी गीत राखेका छैनन् होला भनेर अहिले आस मात्र गर्न सकिन्छ। भर त पर्न सकिन्न।
फागुन १७, २०८० बिहीबार १६:४२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।