३२ वर्षपछि नेपाल बक्सिङ ओलम्पिकमा, थापा र तेली प्रतिस्पर्धा गर्दै

३२ वर्षपछि नेपाल बक्सिङ ओलम्पिकमा, थापा र तेली प्रतिस्पर्धा गर्दै

काठमाडौं : इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको तर्फ ओलम्पिकमा खेल्ने भएका हुन्। अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन्।

टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन्।

मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्दै छ। यो प्रतियोगिताका लागि खेलाडीले दुई साता भारतमा पनि तयारी प्रशिक्षण पनि गरेका थिए।

ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ। सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन।

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन्। इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिने छन्।

उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन्। इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ। त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ।

१७ फागुन, २०८०, १४:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।