पत्रकार विजयरत्नको हिजोको कुरा : गोरखापत्रमा पठाएको फिल्म समीक्षा ‘सम्पादकलाई चिठी’ भएर छापियो, ६० रुपैयाँ पाइयो
विजयरत्न तुलाधर नेपाली फिल्म क्षेत्रका परिचित नाम हो। वि.सं. १०१८ सालमा असनमा जन्मिएका तुलाधरले लामो समयदेखि पत्रकारिता र फिल्म निर्देशनको काम गर्दै आएका छन्।
फिल्म ‘पिरती’मा पहिलो पटक सहायक निर्देशकको रुपमा काम गरेका उनले निर्देशन गरेको पहिलो फिल्म हो ‘वीर गणेशमान’। ल क्याम्पस भर्ना भएका उनले त्यहिँबाट कलाकारसँगको चिनजान बढाए। उनी २०४० सालमा ‘ल’ क्याम्पस भर्ना हुँदा नेवार समुदायका थोरैले मात्र कानुनको विषयमा पढ्थे रे।
विजयले थाहा पाउँदा काठमाडौंमा केहि फिल्म हलहरू मात्र थिए। उनलाई फिल्म हेर्न र हिरो हिरोइनको तस्बिर छापिएको पत्रिका पढ्न खुब चासो लाग्दो रहेछ। एसएलसी नदिँदै गोरखापत्रमा फिल्म समीक्षा गरेका थिए। तर त्यो समीक्षको रुपमा छापिएन, सम्पादकलाई चिट्ठी भन्ने कोलममा छापियो।
कलेज पढ्दा उनले प्रकाश सायमी, उदितनारायण झा लगायतसँग भेट्ने मौका पाए। उनीहरूकै संगतले उनी फिल्म निर्देशक बने। उनले त्यो बेलामा आफूले देखेका र भोगेका कुराहरूलाई उकेराको कोलममा हिजोको कुरा यसरी सुनाए।
बाल्यकालमा देखेको असन
मैले देख्दा असन साँघुरो बजार थियो तर नुनदेखि सुनसम्म जे खोज्यो त्यहि पाइन्थ्यो। चारैतिरबाट मान्छेहरू सामान किन्न यहिँ आउँथे। असनका डबलीहरूको एक कुनामा उसिना चामल बिक्री हुन्थ्यो भने अरु ठाउँमा अन्य चामल। त्यो उसिना चामल न्यून आए भएकाले सहजै पाउन् भनेर बेचिन्थ्यो। त्यसको मूल्य चाहिँ बिर्सेँ।
त्यहि डबलीको एउटा कुनामा ढिके नुन बेच्न राखिएको हुन्थ्यो। गाडामा व्यापार गरिन्थ्यो। तर अहिलेको जस्तो ठेलागाडा हैन। त्यो गाडामा भुटेको चना, भटमास, बदाम लगायतका खानेकुराहरू बिक्रीमा राखिन्थेँ।
मलाई अहिले पनि सम्झना छ, असनमा पुलिस थानाको भर्याङमुनि एक महिलाले पसल राख्नुभएको थियो। ‘भर्याङमुनि भाउजु’को नामले चर्चित थियो त्यो पसल। पसलमा नुन, तेल, शखर लगायतका सबै वस्तुहरू पाइन्थ्यो। उहाँले भर्याङमुनि पसल थापेको हुनाले उनको नाम नै भर्याङमुनि भाउजु भएको थियो। असली नाम त के हो थाहा भएन तर उहाँ निकै चर्चित हुनुहुन्थ्यो त्यो बेला।
त्यो समयमा अहिलेको जस्तो प्लाष्टिकका झोलाहरू पाँइदैनथ्यो। सामान गोरखापत्रमा बेरेर बेच्ने चलन थियो। अनि मलाई ती सामानभन्दा पनि सामान बेरेको पत्रिका आकर्षक लाग्थ्यो। त्यो बेला असनको एउटा घरमा विश्वज्योति र रञ्जना हलमा लाग्ने विभिन्न फिल्मका पोस्टर टाँसिन्थ्यो। मलाई ती पोस्टरहरूले पनि तान्थेँ।
हजुरआमा एकदमै धेरै हिन्दी फिल्म हेर्ने भएर पनि हुनसक्छ मलाई फिल्मप्रति रुचि भएको। उहाँ राज कपूरका फिल्महरू हेर्नुहुन्थ्यो। उनीहरूको फिल्म हलमा आउँदा हजुरआमाले मलाई लिएर जानुहुन्थ्यो, कहिले विश्वज्योति कहिले रञ्जना। मलाई अहिले त्यति प्रष्ट छैन सम्झना, मधुरो-मधुरो याद भने छ। जब म ८/१० वर्षको भएँ, तब आफैँ हलमा फिल्म हेर्न जान थालेँ। त्यसपछि मेरो खेल्ने ठाउँ भनेको विश्वज्योति र रञ्जना हल नै भयो। रञ्जनाभन्दा पनि अलिक बढी विश्वज्योतिमा गएँ।
त्यो बेलामा काठमाडौं भक्तपुर र ललितपुरमा फिल्म हलहरू बनिसकेका थिए। पाटनमा अशोक हल, भक्तपुरमा नवदुर्गा फिल्म हल थियो। भक्तपुरको फिल्म हलमा चाहिँ पुराना-पुराना फिल्महरू मात्रै चलाउँथे। म हुँर्कदै गर्दा राजेश खन्ना, शशि कपुर, जितेन्द्रको जमाना थियो। नेपाली फिल्महरू आइरहेका थिएनन्। त्योभन्दा पनि पुराना हिरोहरू अशोक कुमार, दीलिप कुमारहरूको फिल्म हलमा लाग्थेँ । फिल्म लामो समयसम्म चल्थे।
एक पटक काठमाडौंका हलमा लागेको फिल्महरू फेरि भक्तपुरमा लाग्थ्यो। भक्तपुरको आकर्षण नै यहि थियो त्यो बेला। ए भक्तपुरमा यो फिल्म लागेको छ भन्दै असनबाट मान्छेहरू हेर्न जान्थे। कोही ए ‘मदर इण्डिया’ लागेको छ भन्दै कुद्थेँ, त्यसरी कुद्नेमा म पनि पर्थेँ। भक्तपुरमा २/३ वर्षसम्म चलेको फिल्म दोहोर्याएर चलाउने गर्थे। किनभने उसको विशेषता नै त्यहि थियो। अहिलेको जस्तो रिलिज भएकै दिन सबैतिर फिल्म लाग्दैनथे।
त्यहि बेलादेखि नै हो फिल्म र हलप्रति अझ धेरै चासो बढ्न थालेको। अझ बढि विश्वज्योति हलको बारेमा। किनभने मेरो खेल्ने ठाउँ त्यहिँ थियो। पछि-पछि मैले त्यहिँको गार्डदाइ र टिकट काट्नेहरू सबैलाई साथी बनाएको थिएँ। उहाँहरूसँग राम्रो चिनजान भएपछि मैले निःशुल्क फिल्म हेर्न थालेँ। त्यसपछि मैले फिल्म हेर्दा कहिल्यै पैसा तिर्नुपरेन। फिल्म हलहरू अहिलेको जस्तो व्यवस्थित थिएनन्। बाँस लगायतले बेरबार पारेका हुन्थे।
‘यो फिल्म नेवारी भए कति राम्रो हुन्थ्यो होला’
त्यो समयमा हिन्दी फिल्म हलमा लाग्दा हामी बुझ्दैनथ्यौं। मेरो बाल मस्तिस्कमा ‘यो फिल्म नेवारी भाषामा बनेको भए कति राम्रो हुन्थ्यो होला है’ भन्ने हुन्थ्यो। किनभने म नेवार र नेपाली भाषा बुझ्छु नि! हिन्दी भाषा त केहि बुझिन्नथ्यो।
श्रीग बिहारमा आधा क्लास र एक क्लास भन्ने हुन्थ्यो। त्यहाँ पढे मैले। त्यसपछि असनकै बालकुमारी निमाविमा कक्षा ८ सम्म पढेर त्यसपछिको अध्ययन नेपाल आदर्श माध्यमिक विद्यालयमा गरेँ। त्यहिँबाट ३७ सालमा एसएलसी पास गरेँ। ३६ सालको आन्दोलनका कारण हाम्रो पढाइ ३७ सालमा पुगेको थियो। त्यो बेला मेरो पढाइमा खासै पकड भएन। त्यहि भएर म दुई-तीन पटक एसएलसीमा गुल्टिएँ।
बल्ल-बल्ल पास गरेपछि नेवार समुदायबाटै पहिलो पटक ‘ल’ क्याम्पसमा भर्ना भएँ। नेपालका ७५ वटै जिल्लाबाट कानुन विषय पढ्न आउथेँ। तर हाम्रो नेवार समुदायका चाहिँ थोरैले मात्र यो विषय पढ्थे। कानुन विषयमा हाम्रो समुदायका मान्छेहरूमा रुचि नभएरै त होला नि नपढेको कि गाह्रो भएर हो?
खैर! जे भए पनि मैले ल क्याम्पससँगै आरआर क्याम्पस पनि भर्ना भएर पढ्न थालेँ। आरआरमा प्रकाश सायमी, उदित नारायण झा, विजय लामा लगायत कला र साहित्यमा रुचि राख्नेहरू धेरै थिए। उनीहरूसँग मेरो निकटता बढ्दै गयो। यहि क्रममा डिप्लोमासम्म आइपुग्दा हाम्रो नेवार समुदायका विद्यार्थीहरू पनि हुन थाले। ममा विस्तारै कलाप्रतिको रुचि बढ्दै गयो।
कलेज पढ्दा-पढ्दै मैले गोरखापत्रमा ‘नेपालमा हकी खेल’ शीर्षकको लेख लेखेको थिएँ। छापियो पनि। त्यतिबेला गोरखापत्रमा लेख छापिनु निकै ठूलो कुरा हुन्थ्यो। त्यसपछि मैले फिल्म ‘जीवन रेखा’को समीक्षा लेखेर पठाएको थिए। त्यो समीक्षाको रूपमा छापिएन, सम्पादकलाई चिठी भन्ने कोलममा छापियो।
पत्रिकामा पहिलो पटक मेरो नाम छापिएको त्यहिबेला थियो। त्यो बेला के लेखेको थिएँ भन्ने पनि मलाई याद छ। त्यसमा मैले लेखेको थिएँ, ‘मैले जीवन रेखा भन्ने फिल्म हेरेँ, शान्ति मास्केले गरेको अभिनय भारतीय अभिनेत्री ललिता पवारको जस्तै लाग्यो।’
यो छापिएपछि मलाई के चाहियो र ! फुरुङ्ग भएँ। केही दिनपछि त्यो लेख बापत पारिश्रमिक पनि पाएँ, ६० रुपैयाँ। त्यतिबेला मःम एक प्लेट दुई रुपैयाँ पर्थ्यो। हामी साथीभाई भेला भएर मःम, चिया, अरु खानेकुराहरू जति किनेर खाए पनि त्यो पैसा सकिएन। त्यति ठूलो पारिश्रमिक।
त्यतिबेला अभिनय गर्दा कलाकारहरू डुब्थेँ
प्रकाश सायमीसँग मेरो चिनजान थियो। प्रकाश सायमी पढाइ छाडेर ड्रामा तिर लाग्नुभयो। उहाँले त्यो बेला गरेका सबै नाटकहरूको रिहर्सल हेर्ने मौका पाएको थिएँ मैले।
त्यतिबेलाका कलाकार बद्री अधिकारी, रमेश बुढाथोकीहरूसँग मेरो चिनजान भयो। मैले पहिलो पटक नेपाली फिल्म ‘साइनो’मा काम गर्न पाएँ। त्यहाँ मेरो काम डाइलगहरू मिलाउने हुन्थ्यो। त्यहाँ सुटिङ कसरी हुँदो रहेछ, के-के गर्दा रहेछन्। कलाकारले कसरी अभिनय गर्छन् भन्ने कुरा नियाल्ने मौका पाए।
वर्षको एउटा वा दुईटा फिल्म बन्ने भएकाले हुनुपर्छ, त्यतिबेला कलाकारहरू क्यारेक्टरमा एकदमै डुबेर फिल्म गर्थे। आफूले अभिनय गरेको फिल्म कमजोर भयो भने अर्को कलाकार भित्रिन्छ कि भन्ने डरले पनि हुनसक्छ उनीहरू लामो समय लगाएर अभिनयमा भिज्थे। यो २०४० सालतिरको कुरा हो।
त्यसपछि मैले सहायक निर्देशक भएर काम गरेँ फिल्म ‘पिरती’मा। हिरो हुनुहुन्थ्यो उदितनारायण झा। त्यतिबेला असाध्यै मेहनत गर्नुपर्थ्यो फिल्म खिच्न। त्यो समयमा कलाकार र निर्देशकबीच असाध्यै आदरसम्मान गर्ने चलन थियो। अहिले त्यस्तो छ जस्तो लाग्दैन। सबैलाई समान गरेको देख्छु। साथीभाइ जस्ता भएर काम गरेको पाउँछु।
म सहायक निर्देशक भएर काम गर्दा सबै किसिमको जिम्मेवारी हुन्थ्यो। कलाकारको ड्रेसदेखि मेकअपसम्मको ख्याल गर्नुपर्थ्यो। त्यसकारण पनि कलाकारसँग नजिक हुने मौका पाउँथे। तर काम बिग्रँदा भने बेस्कन गाली पनि खाएको छु। ‘पिरती’ र ‘प्रेयसी’ भन्ने फिल्ममा सहायक निर्देशक भएर काम गर्दा नीर शाहसँग मेरो राम्रो चिनजान भयो। त्यतिबेला उहाँ राजा, नेपाल टेलिभिजनको हाकिम।
त्यतिबेला निर शाहसँग काम गर्दा ‘तिम्रो काम गराइ ठिक छ तर सोझो छौ। यति सोझो भएर काम गर्नुहुन्न। कमान्ड गर्ने क्षमता राख्नुपर्छ’ भन्नुहुन्थ्यो। उहाँले त्यतिबेला ‘तिमीलाई डाइरेक्टर नबनाइ म मर्दिन’ भन्नुभएको अझै याद छ।
त्यसपछि ‘वीर गणेशमान’ भन्ने फिल्ममा काम गर्ने भइयो। नीर शाहले निर्देशन गर्ने र म सहायक भएर काम गर्ने। चार/पाँच वर्ष त फिल्मको स्क्रिप्ट र अन्य अध्ययनमै लाग्यो। कलाकार छनोटदेखि सबै काम गरिसकेपछि अचानक नीर शाहले फिल्म छोड्नुभयो। मलाई निर्देशन गर्न भन्नुभयो।
‘मैले सकुँला र?’ भनेँ। उहाँले ‘तपाईंको बानी यही त हुँदैन नि! नसक्ने भन्ने नै होइन। गर्छु, आँट्छु भन्नुपर्छ’ भन्नुभयो। त्यसपछि मैले यो फिल्मको निर्देशन गरे। उहाँले रिसाएरै भनेपछि मैले यो फिल्मको निर्देशकको जिम्मा लिएँ। जुन राम्रो पनि भयो।
पहिलाका निर्देशकहरू निकै रिसाहा थिए। प्रकाश थापा आफूले भनेको र खोजेको कुरा कलाकारबाट नपाउञ्जेलसम्म गाली गरि-गरि काम गराउनुहुन्थ्यो। त्यो हेरिकन अहिले निर्देशकहरू साथीजस्ता भएर काम गरिरहेका छन्।
कतै व्यवस्था परिवर्तन भएर ब्यवहार बदलिएको पो हो कि!
फागुन १७, २०८० बिहीबार १५:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।