दुग्ध उत्पादक किसानको चक्काजाममा प्रहरीको बलजफ्ती (तस्बिरहरू)

दुग्ध उत्पादक किसानको चक्काजाममा प्रहरीको बलजफ्ती (तस्बिरहरू)

बुटवल : दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्।

बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्रीवापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व-पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन्।

किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाम खुलाउन केही समय बलसमेत प्रयोग गरेको थियो। चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल भएको थियो।

किसानहरूले माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने बताएका छन्।

खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन शुरू गरेका हुन्। केन्द्रीय सर्कुलर अनुसार बिहीबार किसानहरूले ठाउँ-ठाउँमा एक घण्टा चक्काजाम गरेका हुन्।

जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्। दुग्ध विकास संस्थानको गत भदौ देखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ।

रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए।

विभिन्न कारण देखाई दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले सहकारी संस्थाहरू मार्फत सङ्कलन गरेको दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, केही मात्रामा लगेको दूधको रकम समयमा भुक्तानी नगर्ने, नेपाल सरकारले तोकेको भन्दा कम दरमा खरिद गर्ने गरेकाले आफूहरू बाध्य भएर आन्दोलित हुन परेको पीडित किसानहरूको भनाइ छ।

फागुन १७, २०८० बिहीबार १३:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।