वाफ महिला च्याम्पियनसिपको फाइनलअघि साम्बाले भनिन्- ‘हामी सक्छौं, हामी गर्छौं!’

वाफ महिला च्याम्पियनसिपको फाइनलअघि साम्बाले भनिन्- ‘हामी सक्छौं, हामी गर्छौं!’

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडि सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन्।

वाफ महिला च्याम्पियनसिपको फाइनल खेलअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको लागि खेल्न पाउनु गर्वको विषय भएको बताएकी हुन्।

यद्यपि फुटबलमा आफूले व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको भनाइ छ। क्लबले सधैं आफ्ना लागि सहज वातावरण बनाइदिएको र यसपटक पनि फिफाले तोकेकोभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाइदिएकोमा उनले धन्यवाद दिइन्।

‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ,’ उनले भनेकी छन्, ‘क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु।’

एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेको स्मरण गराउँदै उनले प्रतिद्वन्द्वी कठिन भए पनि नेपाली टोलीले उपाधि घर लिएर जाने विश्वास व्यक्त गरिन्।

खेलाडीको रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने उल्लेख गर्दै उनले टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘खेलाडीको रूपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु। शुभकामना टिम! हामी सक्छौं, हामी गर्छौं!’

फागुन १७, २०८० बिहीबार १०:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।