भारतीय क्रिकेटको सेन्ट्रल कन्ट्र्याक्टबाट इसान किसान र श्रेयस अय्यर आउट, अन्य खेलाडीको तलब कति?

भारतीय क्रिकेटको सेन्ट्रल कन्ट्र्याक्टबाट इसान किसान र श्रेयस अय्यर आउट, अन्य खेलाडीको तलब कति?

एजेन्सी : भारतको क्रिकेट बोर्डले क्रिकेटरद्वय इसान किसान र श्रेयस अय्यरलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाएको छ।

बुधबार भारतीय क्रिकेट कन्टोल बोर्डले वार्षिक कन्ट्र्याक्टमा रहेका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ, जसमा यी दुई खेलाडी छैनन्।

यस्तै बोर्डले ग्रेड ‘ए प्लस’मा कप्तान रोहित शर्मासहित चार खेलाडीलाई समावेश गरेको छ। जसमा विराट कोहली, जसप्रित बुमराह र रवीन्द्र जडेजा छन्।

बोर्डका अनुसार रविचन्द्रन अश्विन, मोहम्मद सामी, मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्ड्या ग्रेड ‘ए’मा समावेश खेलाडी हुन्।

त्यसैगरी बोर्डले ग्रेड ‘बी’मा सूर्यकुमार यादव, रिसभ पन्त, कुलदीप यादव, अक्षर पटेल र यशस्वी जयसवाललाई समावेश गरेको छ।

ग्रेड ‘सी’मा भने भारतीय बोर्ड बीसीसीआईले १५ खेलाडीलाई अनुबन्ध गरेको छ।

जसमा रिंकु सिंह, तिलक बर्मा, ऋतुराज गायकवाड, शार्दुल ठाकुर, शिवम् दुवे, रवि विश्नोइ, जितेश शर्मा, वासिङ्टन सुन्दर, मुकेश कुमार, सञ्जु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्णा, आवेश खान र रजत पाटिदार छन्।

चयन समितिले आकाशदीप, विजय कुमार, उमरान मलिक, यश दयाल र केवरप्पालाई फास्ट बलरको कन्ट्र्याक्ट दिने सिफारिस गरेको बोर्डले एक ट्वीटमार्फत जानकारी गराएको थियो।

सेन्ट्रल कन्ट्र्याक्टमा आवद्ध ‘ए प्लस’ ग्रेडका खेलाडीले वार्षिक सात करोड भारु पाउँछन् भने ग्रेड ‘ए’मा रहेकाले पाँच करोड, ग्रेड ‘बी’मा रहेकाले तीन करोड र ग्रेड ‘सी’मा भएका खेलाडीले वार्षिक एक करोड रुपैयाँ बोर्डबाट पाउनेछन्।

फागुन १७, २०८० बिहीबार ०८:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।