युरोपियन युनियनमा नाभाल्नी पत्नीको भाषण, पुटिनविरुद्धको लडाइँलाई खेलाँची नठान्न आग्रह

युरोपियन युनियनमा नाभाल्नी पत्नीको भाषण, पुटिनविरुद्धको लडाइँलाई खेलाँची नठान्न आग्रह

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीकी पत्नी युलिया नभाल्नायाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको लडाइँमा खेलाँची नगर्न युरोपियन युनियनलाई आग्रह गरेकी छन्।

युरोपियन युनियनको बैठकमा युलियाले राष्ट्रपति पुटिनलाई हराउन युरोपियन युनियनका नेताहरूले ढिलो गर्न नहुने समेत बताइन्। रुसमा पुटिनविरुद्धको सन्देश फैलाउन नाभाल्नी नेता बन्नुपरेको समेत स्मरण गराइन्।

युलियाले पुटिन र युक्रेनको युद्धको विरुद्धमा लाखौं रुसी रहेको बताइन्। पुटिनलाई प्रस्ताव वा प्रतिबन्धले मात्र हराउन नसकिने भन्दै उनले अन्तर्राष्ट्रिय नेताहरूले पुटिनलाई उनकै जस्तो मानसिकताले मात्र हराउन सकिने बताइन्।

युलियाले आफ्नो पतिको मृत्यु नभएर पुटिने हत्या गरेको आरोप समेत लगाउन भ्याइन्। पुटिनले जे पनि गर्नसक्ने भएकाले उनीसँग वार्ता हुन नसक्ने युलियाको भनाइ छ।

युलियाले आफ्नो पतिको अन्त्येष्टि शुक्रबार मस्कोमा शान्तिपूर्ण रूपम हुने बताउँदै त्यहाँ पनि रुसी प्रहरीले मानिसलाई पक्राउ गर्नसक्ने आशंका व्यक्त गरिन्।

यसै महिना, अलेक्सी नाभाल्नीको आर्कटिक जेलमा अचानक मृत्यु भएको थियो। उनकी पत्नी युलिया र पश्चिमी देशहरूले यसका लागि राष्ट्रपति पुटिनलाई जिम्मेवार ठहर्याएका छन्। उनीहरूले नाभाल्नीको हत्या भएको समेत आरोप लगाएका छन्।

उनको शव आठ दिनपछि आमालाई हस्तान्तरण गरिएको थियो र शुक्रबार मस्कोमा अन्त्येष्टि गरिँदैछ।

फागुन १७, २०८० बिहीबार ०८:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।