राप्रपाले चैत १६ गते जनसंघर्ष गर्ने, यस्ता छन् कार्यक्रमहरू

राप्रपाले चैत १६ गते जनसंघर्ष गर्ने, यस्ता छन् कार्यक्रमहरू

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने भएको छ।

पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो।

राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको थियो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले बुधबार राजधानीमा आन्दोलन सम्बन्धी प्रशिक्षण गरेको छ।

अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

जनसंघर्षअघि राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा समेत गर्नेछ। त्यस्तै, चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल र्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

फागुन १६, २०८० बुधबार २१:४०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।