सेन्चुरी प्रकरणबारे चार बैंक तथा वित्तीय संस्थाको छाता सङ्गठनको धारणा'पहिला सुन अनि थुन’

सेन्चुरी प्रकरणबारे चार बैंक तथा वित्तीय संस्थाको छाता सङ्गठनको धारणा'पहिला सुन अनि थुन’

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाका चार सङ्गठनले बैङ्किङ क्षेत्रमा भइरहेको धरपकड र पक्राउले बैङ्किङ क्षेत्र आतङ्कित बनेको बताएका छन्।

बुधवार नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैङ्किङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको आरोप लगाएका छन्।

देउराली सहकारीको बदमासीको अनुसन्धानकोक्रममा तत्कालीन सेन्चुरी बैंकबाट प्रवाह भएको ऋणमा बदनियत देखिएको भन्दै बैंकका तत्कालीन दुई सिइओसहित १० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको थियो।

बुधवार चार सङ्गठनले विज्ञप्तिमार्फत बैङ्किङ क्षेत्रमा काम गर्ने कर्मचारीहरूको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा असर पुग्ने दाबी गरेका छन्।

 ‘बैंक तथा वित्तीय संस्थाहरूले चल/अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरू हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही कर्जा प्रवाह गर्ने गर्दछन्,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरूको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरूलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।’

उनीहरूले पारदर्शी रूपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई पालना गर्दै अगाडि बढी रहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भय रहित रूपमा काम गर्ने वातावरणको सुनिश्चित हुनुपर्ने माग राखेका छन्।

कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा त्यसमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्नेमा द्विविधा नरहेको भन्दै विज्ञप्तिमा प्रचलित कानुन, नियमनकारी निकायबाट जारी निर्देशनहरू तथा बैङ्किङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधीनमा रही काम गरी रहेको बताएका छन्।

फागुन १६, २०८० बुधबार २१:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।