प्रदेश नेतृत्व बदल्दा माओवादीमा लफडा, जनार्दन र खगराजको लिखित 'विद्रोह'

प्रदेश नेतृत्व बदल्दा माओवादीमा लफडा, जनार्दन र खगराजको लिखित 'विद्रोह'

काठमाडौँ : प्रदेशको जिम्मेवारी हेरफेर गर्ने पार्टी स्थायी समितिको बैठकले माओवादी केन्द्रभित्र असन्तुष्टि बढाएको छ।

१० प्रदेशको इन्चार्जहरू परिवर्तन गर्ने पार्टी बैठकको निर्णयमा माओवादीभित्रका प्रभावशाली जनार्दन शर्माले लिखित रूपमै असन्तुष्टि जनाइसकेका छन्। सुदूरपश्चिमको इन्चार्जबाट हटाएकोमा खगराज भट्टले समेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएर आफ्नो राजनीतिक करिअर नै सिद्ध्याउने षड्यन्त्र भएको बताएका छन्।

उनी माओवादी केन्द्रका स्थायी समिति सदस्य र  सुदूरपश्चिम प्रदेशसभाका सदस्य समेत हुन्। उनलाई प्रदेश सांसदहरूले संसदीय दलको नेताबाट समेत हटाएका थिए।

स्थायी समितिको बैठकले संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन गर्ने अनि आफूलाई सुदूरपश्चिमको इन्चार्जबाट हटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी अध्यक्षलाई पठाएको पत्रमा चार वटा प्रश्न सोधेका छन्।

पत्रमा स्थायी समितिको निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहन गर्छ या प्रोत्साहन ?, पार्टीलाई नै जीवन ठान्ने कार्यकर्ताहरूलाई उत्साहित या निराशा गर्छ ?, पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुन्छ ?,  पार्टीमा दण्डहीनता प्रश्रय हुँदैन र ? भन्दै प्रश्न उठाएका छन्।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका जनार्दन शर्माले स्थायी समिति बैठकले गरेको कार्य विभाजनमा लिखित असहमति नै राखिसकेका छन्।

उनले पार्टीमा बुझाएको लिखित असहमतिमा भट्टको विषय समेत उठाएका छन्। भट्टलाई संसदीय दलको नेता र प्रदेश इन्चार्ज दुवै पदबाट च्युत गरेर विकल्प नदिई अपमानित गरिएको उनको टिप्पणी छ।

स्थायी समितिको बैठकले बागमती प्रदेशको इन्चार्जको जिम्मा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको थियो। बागमतीको सह-इन्चार्ज तोकिएन।

गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सह-इन्चार्ज हरिराज अधिकारीलाई तोकियो। लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सह-इन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीलाई तोकियो।

यसैगरि कोशी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सह-इन्चार्जमा सावित्रीकुमार काफ्ले, मधेस प्रदेशको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सह-इन्चार्जमा विश्वनाथ साहलाई तोकियो।

बैठकले कर्णाली प्रदेश इन्चार्जमा कालीबहादुर मल्ललाई दिए पनि सह इन्चार्ज तोकेको छैन। सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मा गिरिराजमणि पोखरेलले पाए भने सह इन्चार्ज केन्द्रीय सदस्य बिना मगरले पाइन्।

प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सह इन्चार्ज टिबी पाठक र प्रवास प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकेको थियो।

विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सह इन्चार्जमा यशोदा सुवेदी तोकिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका थिए। प्रचण्डको पारिवारिक सदस्य बिनालाई सुदूरपश्चिमको सह इन्चार्ज बनाएकोमा पार्टीभित्रै असन्तुष्टि देखिएको छ।

फागुन १६, २०८० बुधबार २१:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।