सर्वोत्तमको २७ लाख ७६ हजार आइपिओका लागि पाँच करोड ३६ लाख कित्ताको माग
काठमाडौँ : सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आइपिओ) का लागि १० लाख १२ हजार ३ सय ८४ जनाले आवेदन दिएका छन्। आवेदन दिन पाउने बुधवार साँझ ५ बजेसम्म आईपीओमा १९.३ गुणा बढी आवेदन परेको छ।
कम्पनीले बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणका लागि आइपिओ खुलाएको थियो।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन खुलाएकोमा ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता माग आएको छ। आइपिओका लागि १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको छ।
बुक बिल्डिङबाट खुलेको आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। ५० भन्दा थोरै कित्तामा आवेदन दिएकाहरूको आवेदन स्वतः रद्द हुनेछ।
न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था अनुसार आवेदकमध्ये ५५ हजार ५ सय २१ जनाले मात्रै आइपिओ पाउन सक्नेछन्।
फागुन १६, २०८० बुधबार १८:५४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।