थोत्रो भयो कांग्रेस, संविधान संशोधनको विषय अघि बढाएर ‘ब्लाइन्ड फायर’ गर्न खोज्यो : ओली

थोत्रो भयो कांग्रेस, संविधान संशोधनको विषय अघि बढाएर ‘ब्लाइन्ड फायर’ गर्न खोज्यो : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने खेलमा एमाले नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको बताएका हुन्।

उनले भने, ‘हामी मिसन ८४ मा केन्द्रित छौं। मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन्। जनतामा रहेको निराशालाई आशामा बदल्नु छ। प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौ। तर गठबन्धनले सुनिरहेको छैन।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेको आरोप समेत लगाए।

‘कांग्रेस अब पुरानो अवस्थामा रहेन। पहिलेको जस्तो छैन,’ उनले भने, ‘थोत्रो भएको छ कांग्रेस।’

कांग्रेसले संविधान संशोधनको विषय अघि बढाउनुलाई ‘ब्लाइन्ड फायर’ गर्न खोजेको ओलीको बुझाइ छ।

‘संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी, विषयगत मुद्दा चाहियो। ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ?’ उनले भने, ‘कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको छ।’

संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको अध्यक्ष ओलीले बताए।

यसैगरी ओलीले अर्को प्रसंगमा जनताको मृत्युको कारण देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताए। मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्ने उनले बताए।

गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै ओलीले मन्त्रीको कारण जनताको मृत्यु भएको अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।

फागुन १६, २०८० बुधबार १४:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।