साम्बाले वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियन्सिपको फाइनल खेल गुमाउने भएकी छिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएकी हुन्।
क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति भएकाले उनले फाइनल खेल्ने नपाउने भएकी हुन्।
फेब्रुअरी १९ देखि २८ सम्म फिफा विन्डाे पर्दछ। समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेकी थिइन्।
फाइनल भने फिफा विन्डो बाहिर अर्थात् १९ फेब्रुअरीमा नेपाल र जोर्डनबीच हुनेछ।
क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाको भनाइ छ।
जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्। सेमिफाइनलमा मंगलबार राति लेवनानलाई नेपालले २-१ ले हराउँदा बराबरी गोल गरेकी थिइन्।
साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन्।
फागुन १६, २०८० बुधबार १३:१८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।