प्रत्यक्ष निर्वाचित पदाधिकारीको कुरा उठाउँदा मलाई जिम्मेवारीमुक्त बनाइयो : जनार्दन शर्मा

प्रत्यक्ष निर्वाचित पदाधिकारीको कुरा उठाउँदा मलाई जिम्मेवारीमुक्त बनाइयो : जनार्दन शर्मा
फाइल तस्बिर

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले असहमति प्रकट गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरूमा उनले असहमति राखेका हुन्।

विधान अधिवेशनको ह्याङओभरलाई लिएर पार्टीको कार्यविभाजन गरिएको आरोप लगाउँदै उनले सन्तुलित र न्यायपूर्ण नभएको समेत बताए।

‘विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो,’ उनले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भनेर भनाइ राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइयो।’

सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदा-हुँदै केन्द्रीय सदस्यलाई सह-इन्चार्ज बनाएको र दलसँग सम्बन्धित विवाद टुंग्याउँदा सन्तुलित र न्यायपूर्ण नभएको भन्दै उनले असहमति राखेका थिए।

स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक परिवेशको समीक्षा लगायत पार्टीको आन्तरिक जीवनका कार्यविभाजनका सन्दर्भमा छलफल भएका थिए।

फागुन १६, २०८० बुधबार ११:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।