८२ प्रतिशत अमेरिकी जनता इजरायलको समर्थनमा छन् : प्रधानमन्त्री नेतन्याहू

८२ प्रतिशत अमेरिकी जनता इजरायलको समर्थनमा छन् : प्रधानमन्त्री नेतन्याहू

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाका ८२ प्रतिशतभन्दा बढी जनताले हजरायल–हमास युद्धमा इजरायलको समर्थन गरेको बताएका छन्।

अमेरिकामा इजरायलको लागि भएको लोकप्रिय सर्मथनले हमासमाथि पूर्ण जितसम्म लड्न मद्दत गर्ने उनको भनाइ छ। हालै प्रकाशति हार्वर्ड–ह्यारिसको एक अध्ययनलाई उद्धृत गर्दै उनले ८२ प्रतिशत मानिस इजरायलको पक्षमा रहेको बताएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको आक्रमणपछि इजरायलले विश्वभरको समर्थन गुमाउने खतरा बढ्दै गइरहेको बताएपछि इजरायलका प्रधानमन्त्री नेतन्याहूको यस्तो बयान आएको हो।

युद्धको सुरुवाती समयदेखि नै आफूले युद्धविरामको लागि आउने अन्तर्राष्ट्रिय दबाबसँग जुध्न र इजरायलको लागि समर्थन जुटाउने अभियान थालिसकेका प्रधानमन्त्री नेतन्याहूको भनाइ छ।

उता अमेरिकी अधिकारीहरू भने सम्भावित युद्धविराम सम्झौतामा काम गरिरहेको बताउँछन्। सोमबार अमेरिकी राष्ट्रपति बाइडेनले आगामी सोमबारसम्म युद्धविराम हुनसक्ने आशा व्यक्त गरेका थिए।

सोही क्रममा उनले युद्धलाई निरन्तरता दिइरहे इजरायलले विश्वभरको समर्थन गुमाउने चेतावनीसमेत दिएका थिए।

फागुन १६, २०८० बुधबार ०७:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।