सहकारीको फाइल खोतल्दा पत्ता लागेको बैंकको बदमासी, सिइओसहित १० जनाले ९७ करोड बढी ऋण दिएका थिए रविन्द्रलाई

सहकारीको फाइल खोतल्दा पत्ता लागेको बैंकको बदमासी, सिइओसहित १० जनाले  ९७ करोड बढी ऋण दिएका थिए रविन्द्रलाई

काठमाडौँ : देउराली बहुउद्देश्यीय सहकारीको सञ्चालक रवीन्द्र चौलागाईको विभिन्न कम्पनीलाई तत्कालीन  सेन्चुरी बैंकका पदाधिकारीहरूले धितोको मुल्यांकनभन्दा ९७ करोड ४१ लाख बढी ऋण प्रवाह गरेको देखिएको छ।

सहकारीमा आबद्ध रहेकाहरूको कम्पनीले लिएको कर्जाको अनुसन्धानकोक्रममा धितोभन्दा अधिक ऋण प्रवाह भएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैकका तत्कालीन दुई कार्यकारी प्रमुखसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। रवीन्द्र सहकारी ठगीको अभियोगमा यस अगाडि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन्।

सिआइबीले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार रवीन्द्रसहित संलग्न रहेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री बदर्श मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीको नाममा दुई अर्ब ११ करोड ६५ लाख ऋण दिएका थिए।

त्यसका लागि बैङ्कमा कर्जा सुरक्षणका लागि राखेको धितोको मूल्याङ्कन एक अर्ब १४ करोड २३ लाख मात्र देखिएको छ। धितोको मूल्याङ्कनभन्दा अधिक ऋण प्रवाह गरेको आरोपमा सिआइबीले बैङ्किङ कसुर कानुन अनुसार सेन्चुरीका तत्कालीन सिइओ मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा राजेश भण्डारी, दिलीप बराल, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको छ।

पक्राउ परेका राजेश तत्कालीन सेन्चुरीका क्रेडिट अफिसर हुन्। दिलीप बराल रिस्क हेड हुन्। रमण श्रेष्ठ सेन्चुरीको बागमती प्रदेश प्रमुख हुन्। सिआइबीले उनीहरूलाई अनुसन्धानका लागि अदालतमा पेस गर्दा अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति आएको छ।

अहिले सेन्चुरी बैङ्क अस्तित्वमा छैन। यो प्रभु बैङ्कसँग गाभिएको थियो। बैङ्क गाभिएसँगै ऋण पनि प्रभुमा गाभियो। ऋण नउठेपछि प्रभुले धितो लिलामको सूचना समेत निकालेको थियो। पक्राउ परेका मनोज अहिले प्रभु बैङ्कको  वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा थिए। पक्राउ परेका अधिकांश कर्मचारीहरु प्रभुमै कार्यरत थिए।  

यस्तो थियो सहकारी ठगी

देउराली बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय थियो ललितपुरको सातदोबाटोमा। सहकारीमा २० हजार भन्दा बढी बचतकर्ताको ३ अर्बभन्दा बढी रहेको निक्षेप रवीन्द्रले व्यक्तिगत कम्पनीहरूमा लगानी गरेका थिए।

बचतकर्ताको बचत रकम फिर्ता नदिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानमा श्रीमतीसहित आफन्तलाई सञ्चालक बनाएर बचत दुरुपयोग गरेको खुल्यो। अनि सिआइबीले पक्राउ गर्यो।

सिआइबीको अनुसन्धानमा उनले सहकारीको रकम आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेस्टमेन्ट प्रालि लगायतमा लगानी गरेको खुल्यो।

सिआइबीले असोजमा उनलाई पक्राउ गर्यो। अनुसन्धानमा उनले सहकारीको पैसाले एक सय रोपनी बढी जग्गा किनेको खुल्यो। प्रहरीले रवीन्द्रकी श्रीमती पूजासहित ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्यो। सहकारीमा दुई अर्ब ५५ करोड निक्षेप देखिए पनि ६६ करोडको मात्र जाहेरी परेपछि प्रहरीले त्यसैलाई बिगो कायम गरेको थियो।

फागुन १५, २०८० मंगलबार २३:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।