‘रङ्गेली’ की ‘जुनकिरी’ मिरुना, गेटअप मात्र फरक हो कि अभिनय पनि!

‘रङ्गेली’ की ‘जुनकिरी’ मिरुना, गेटअप मात्र फरक हो कि अभिनय पनि!

काठमाडौँ : दयाहाङ राईको मात्रै हैन, उनीसँग जोडी बाँधिरहने मिरुना मगरको अभिनय पनि पछिल्लो समय एकै खालको निरस देखिँदै आएको छ। एकै खालको चरित्र देखिन्छ उनको। 

'कबड्डी ४', 'जारी', 'नाङगो गाउँ', 'दयारानी'  लागयतका फिल्ममा गरेको अभिनयमा पृथकता देखिएन उनको। यी दुबै जोडी बाँधिएका फिल्मको लिस्ट लामै छ निर्माणमा। 'घरज्वाईँ' अनि 'मनसरा'मा पनि यी दुबै जोडी छन्। यी दुबै जोडी बनेको  फिल्म ‘रङ्गेली’ प्रदर्शनको तयारीमा छ। रंगेलीमा दयाहाङ विजय बनेका छन् भने मिरुना जुनकिरी।

तराईको अपराधको कथामा बनेको फिल्ममा उनी थारू गेटअपमा देखिँदै छिन्। मिरुनाको दाबी अनुसार उनले यो फिल्ममा निभाएको चरित्र अभिनय करियरकै फरक हो रे।

उनको जोडी बनेका छन् दयाहाङ राई। ग्याङस्टर कथामा बनेको फिल्म कतै 'ग्याङस् अफ वासेपुर'को नक्कल त हैन भन्ने शंकाहरु बढाइरहेको छ। 

उनले फिल्ममा जुनकिरीको चरित्र निभाउँदा समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको बताइन्।

रङ्गेलीमा विजय (दयाहाङ राई ), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) जुनकिरीसँग जोडिने चरित्र भएको उनले बताइन्।

उनले प्रायः फिल्ममा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने भएता पनि यो फिल्ममा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको दाबी गरिन्।

‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्र निभाइरहँदा समाजमा राम्रो र नराम्रो नभई ’ग्रे’ जोनमा बसिरहेको मान्छेहरूको जीवनमा कसरी ट्वीस्ट आउँछ भन्ने कुरा आफूले ’विजय’ र ’भगवान् दादा’को पात्रबाट देखेको बताइन्।

‘उहाँहरू कसरी त्यहाँसम्म आइपुग्नुभयो । त्यो विन्दुसम्म समाजले उहाँहरूको आफ्नो अनुभवले कसरी गाइड गर्दै गयो भन्ने कुरा नै बुझ्ने प्रयास गरेँ जस्तो लाग्छ । खलपात्र भनेको जसरी हामीले चित्रण गरिन्छ, जसरी समाजमा बुझिन्छ, त्यो भन्दा पनि किन भयो त, कसरी त्यहाँसम्म आइपुग्नु भयो र उहाँहरूले के हिसाबमा खल पात्र मानिनुभयो भन्ने कुरा नै सुरुमा नै मैले बुझ्ने प्रयास गरेकी हुँ’, मिरुना भन्छिन्।

फिल्ममा ’जुनकिरी’को दह्रो उपस्थिति नै अर्को उल्लेख्य पक्ष रहेको मिरुनाको बुझाई छ। ‘रङ्गेली’अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्म हो। फिल्ममा दयाहाङ र मिरुनासँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ। 

फागुन १५, २०८० मंगलबार २१:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।