‘संसद् ठेकेदार, फटाहा र सुन चोरहरूको बन्न गइरहेको छ, त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन?’

‘संसद् ठेकेदार, फटाहा र सुन चोरहरूको बन्न गइरहेको छ, त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन?’

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् ठेकेदार, फटाहा र स्पोन्सरहरूको बनिरहेको पनि बताएका छन्।

मंगलबार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्।

उनले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए। उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए।

उनले पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका टिप्पणी गरे।

उनले भने, ‘खालि ठेकेदार, फटाहा र स्पोन्सरहरूको र अहिले सुन चोरीहरूको संसद् बन्न गइरहेको छ। त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन? सरकार र प्रधानमन्त्रीको? जम्मै भ्रष्टाचारीहरूको सांसद बनाउन गइरहेका छौँ। अब पनि निर्वाचन पद्धतिमा सुधार नगर्ने हो भने। त्यसकारण यो संविधान खतरामा परिराखेको छ। हामीले एकातिर डेलिभर गर्न सकेनौँ।’

उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताए। उनले सरकारका मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताए।

पूर्वसभामुख ढुंगानाले सबै विरोधीहरू गणतन्त्र विरोधी नभएको पनि बताए। उनले सबै विरोधीहरूलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरूलाई अराष्ट्रिय भनेजस्तै हुने बताए।

उनले सबभन्दा पहिले जनताहरूले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताए।

फागुन १५, २०८० मंगलबार २०:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।