नेपाल पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्‍यो, कुशल मल्लको कीर्तिमान तोडियो

नेपाल पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्‍यो, कुशल मल्लको कीर्तिमान तोडियो

काठमाडौँ : त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले हारेको छ। टीयू क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १ सय ८६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए। टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय  रन बनाएको थियो।

लोफ्टी इटनले १ सय १ रन बनाएका थिए। उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा एक सय रनको रेकर्ड बनाएका थिए।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका थिए। मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाएका थिए। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका थिए। करण केसी र अविनाश बोहराले एक-एक विकेट लिएका थिए ।

फागुन १५, २०८० मंगलबार १७:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।