आचार्यको बिदाइमा कलाकारदेखि राजनीतिकर्मीसम्मको भीड

आचार्यको बिदाइमा कलाकारदेखि राजनीतिकर्मीसम्मको भीड

काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका दिन मन्त्रीदेखि कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणहरू सानो गौचर पुगेका छन्।

आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेदेखि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कलाकारहरू नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, शम्भुजित बास्कोटा, चेतन सापकोटा, बसन्त सापकोटा, दीपक शर्मा लगायत थुप्रै संगीतकर्मीहरूको भीड रहेको थियो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी कुलपति निशा शर्मा लगायतको समेत उपस्थिति रहेको थियो।

उपस्थित उनीहरूले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे भने कतिपय संगीतकर्मीहरू परिचित अनुहारसँग फोटो खिचाउने र सेल्फी खिच्नमै व्यस्त देखिए।

अझ कांग्रेसका महामन्त्रीद्धय थापा र शर्मासँग फोटो खिच्ने संगीतकर्मीहरूदेखि चलचित्रकर्मीहरूसम्मको हुल थियो।

श्रद्धाञ्जलीका लागि फोटो र भिडियो खिच्न पुगेको पत्रकारबीच केहि समय भनाभन समेत भएको थियो। उक्त भनाभनलाई संगीतकार चेतन सापकोटाले मिलाउने प्रयास गरे। किनभने आचार्यको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलै भीड लागेको थियो।

भजन शिरोमणिको उपाधि पाएका आचार्यको सोमबार अपराह्न ४ बजे मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने नेपाल संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए।

फागुन १५, २०८० मंगलबार १४:४१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।