बारामा विस्फोट, दुई जनाको मृत्यु

बारामा विस्फोट, दुई जनाको मृत्यु

बारा : निजगढ नगरपालिका-७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका-९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

बम जस्तो देखिने वस्तु सोमबार बिस्फोट हुँदा वर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो।

कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा सोे वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्नेक्रममा पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

घटनाबारे अनुसन्धान जारी छ।

फागुन १५, २०८० मंगलबार १४:०३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।