फुटबल खेलाडी संघका अध्यक्ष लामा भन्छन्- ‘क्रिकेटको सफलतालाई नियालेर फुटबलको अवस्था सुधारौं’

फुटबल खेलाडी संघका अध्यक्ष लामा भन्छन्- ‘क्रिकेटको सफलतालाई नियालेर फुटबलको अवस्था सुधारौं’

काठमाडौं : पूर्व फुटबलर तथा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले नेपाली क्रिकेट क्षेत्रले गरेको प्रगतिको प्रशंसा गर्दै फुटबल क्षेत्रले पाठ सिकेर अवस्था सुधार गर्नुपर्ने बताएका छन्।

उनले क्यानले खेलाडीहरुलाई दिएको सेवा सुविधाबारे उल्लेख गर्दै फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको सेवा सुविधाको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लामाले नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलाडीलाई केन्द्रिय सम्झौता दिने क्रममा वर्ग विभाजन गर्दै मासिक १ लाख रुपैयाँसम्मको तलबको व्यवस्था गरेकोप्रति खुशी व्यक्त गरे।

साथै, उनले क्रिकेट संघले केहि महिना अघिमात्र पाएको नयाँ नेतृत्व र लामो समय राष्ट्रिय टोलीको नेतृत्व गरेका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा भएको नेपाली क्रिकेटको प्रगतीलाई फुटबल क्षेत्रले उदाहरण मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘मैदानभित्रको अवस्था प्रष्ट बुझेको र मैदानबाहिर अभिभावकत्व दिने व्यक्तित्व एकसाथ आउने हो भने प्रगति हुन्छ भन्ने यो नेपाली खेलकुदको लागि क्रिकेटको प्रगती राम्रो उदाहरण हो’, लामाले भनेका छन्।

क्रिकेटको प्रगतिले फुटबल खेलाडी, प्रशिक्षक र संघमा पनि सकारात्मक प्रतिस्पर्धाको भाव सञ्चय हुने आफूले विस्वास गरेको भन्दै लामाले फुटबल क्षेत्रको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।

‘तथ्याङ्ककै हिसाबमा हेर्ने हो भने सरदर हेर्दा क्रिकेटभन्दा फुटबलले अन्तर्राष्ट्रिय निकायबाट बढी पैसा प्राप्त गर्छ, बढी प्रतियोगिता हुन्छन्, बढी दर्शक उपस्थित हुन्छन्, बढी खेलाडी छन् र प्रयोजन लगायत अन्य पक्षमा पनि अघि नै छ। तर, आज क्यानको क्यालेन्डर र खेलाडीलाई दिइएको सुविधा हेर्दा, हामीले फुटबलमा एकपटक गम्भीर रूपमा सोच्ने समय आएको हो कि भन्ने आभास भएको छ’, लामाले लेखेका छन्।

एन्फाद्वारा प्रकाशित क्यालेन्डरमा युवा खेलाडीको विकासका लागि भन्दै  राखिएका कार्यक्रम हेर्दा खुशी लागेपनि घरेलु फुटबलको प्रतियोगिता संचालनको समयान्तर फलदायी नदेखिएको भन्दै क्रिकेटबाट सिकेर फुटबलको अवस्था सुधार गर्नुपर्ने धारणा लामाको छ।

‘राम्रो कुरा अरुबाट सिक्नुपर्छ, हामीले पनि क्रिकेटको सफलतालाई नजिकबाट नियालेर आफ्नो अवस्था सुधार गरौं’, उनले भनेका छन्। 

१५ फागुन, २०८०, १०:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।