थेगिनसक्नु राजनीतिले २९ सहसचिवको पदस्थानमा ढिलाइ

थेगिनसक्नु राजनीतिले २९ सहसचिवको पदस्थानमा ढिलाइ

काठमाडौं : आफूअनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवहरूको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ।

कर्मचारीहरूको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेको छ।

उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने थलो पाएका छैनन्। उनीहरूको पदस्थापन र सरुवा दुई सातादेखि अन्योलमा छ।

संघीय मामिला मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवहरूको सरुवा तथा पदस्थानको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको थियो।

त्यसको अर्को दिन बस्ने मन्त्रिपरिषद् बैठकबाट निणर्य गर्ने तयारी थियो। तर, त्यसयता पटक-पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ। तैपनि सहसचिव सरुवाको फाइल अघि बढेको छैन।

बरू प्रधानमन्त्री कार्यालय पुगेको फाइलमा थपघट भने निरन्तर छ। पदस्थापन र सरुवामा ढिलाइ हुँदा कर्मचारीहरू भने मन्त्रालयमा हाजिर भएर घाम तापेर दिन कटाइरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनले बनाएको सूचीमा अर्थमन्त्री प्रकाशशरण महतले फरक चाह देखाएपछि सहसचिव सरुवा रोकिएको छ। मन्त्री महतले उपसचिवबाट सहसचिवमा भर्खरै बढुवा भएका आफ्ना रोजाइका २ सहसचिवहरू मिमांश अधिकारी र गोपाल कोइरालालाई आफ्नो मन्त्रालय लैजान चाहेका छन्।

तर, सामान्य प्रशासनले भने बढुवा हुने बित्तिकै अर्थ मन्त्रालयमा पदस्थापन गर्ने प्रचलन नभएको भन्दै अस्वीकार गर्दै आएको छ। अर्थमन्त्री महतको चाहनामा मुख्यसचिव बैकुण्ठ अर्यालले पनि साथ दिएका छन्।

अर्थ मन्त्रालयका कनिष्ठ सहसचिवहरूलाई सिंहदरबारमै राख्ने अस्वभाविक रुचि सम्बोधन गर्नाले सहसचिव सरूवामा ढिलाइ भएको सामान्य प्रशासनको भनाइ छ। 

‘२९ सहसचिव पदस्थापन गर्न खोज्दा ४० जनाको सूची बनाउनुपर्यो, सानो-सानो कुरामा थेगिनसक्नु राजनीतिक दबाब छ,’ मन्त्रालय श्रोत भन्छ, ‘थप सहसचिवहरुलाई सरुवा गर्न भनेर अहिले पनि दबाब छ।’

यसअघि ९ माघमा २८ सहसचिवको सरुवा हुने बेला समेत अर्थ मन्त्रालयकै स्वार्थका कारण ढिलाइ भएको थियो। त्यसबेला अर्थले सहसचिव सेवन्तक पोखरेललाई नै जसरी पनि मन्त्रालय तान्न चाहेको थियो। जसकारण सहसचिवको सरुवा एक महिनासम्म रोकिएको थियो।

फागुन १५, २०८० मंगलबार ०९:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।