इजरायल-गाजाबीच सोमबारसम्म युद्धविराम हुने बाइडेनको आशा

इजरायल-गाजाबीच सोमबारसम्म युद्धविराम हुने बाइडेनको आशा

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल-गाजा युद्धमा आगामी सोमबारसम्म युद्धविराम हुने आशा व्यक्त गरेका छन्।

कतारमा इजरायल र हमासका प्रतिनिधिहरू सम्मिलित चलिरहेको वार्तामा केही प्रगति भएको समाचारहरू सार्वजनिक भइरहँदा बाइडेनको यो टिप्पणी आएको हो।

न्यूयोर्क शहरमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले भने- ‘मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारले मलाई बताएअनुसार हामी एकदमै नजिक छौँ। अर्को सोमबार सम्ममा युद्धविराम हुने आशा छ।’

अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा करिब १२०० व्यक्तिको हत्या गरेपछि इजरायलले गाजामा ठूलो मात्रामा हवाई र स्थलगत आक्रमण गरेको थियो।

आक्रमणकारीहरूले २५३ जनालाई बन्धक पनि बनाए पनि अधिकांशलाई रिहा गरेका थिए।

गाजापट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रमा कम्तिमा २९ हजार ७८२ जनाको ज्यान गएको बताएको छ, जसमा आइतबार मात्रै ९० जनाको मृत्यु भएको छ।

यसअघि पनि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इजरायली बन्धकहरूलाई रिहा गर्ने वार्तामा पछिल्ला केही दिनहरूमा प्रगति भएको बताएका थिए।

गत हप्ता गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेकोमा अमेरिकाको व्यापक आलोचना भएको थियो।

यसको सट्टा अमेरिका आफैँले अस्थायी युद्धविराम प्रस्ताव गरेको थियो, जसले इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको थियो।

फागुन १५, २०८० मंगलबार ०९:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।