टि२० त्रिकोणात्मक सिरिज : पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दै

टि२० त्रिकोणात्मक सिरिज : पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दै

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार विहान ११:३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। सिरिजको लागि क्यानले टिकटको मूल्य दुई सय रुपैयाँ कायम गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालले जुनमा हुने टि२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्।

नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ।

ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि२०आई टोलीमा छैनन्। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन्।

नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ। नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ। बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन्।

फागुन १५, २०८० मंगलबार ०८:०४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।