अन्तिम श्रद्धान्जलीपछि भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदै

अन्तिम श्रद्धान्जलीपछि भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदै

काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदैछ।

सोमबार अपराह्न अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएका उनको आज अन्त्येष्टि गर्न लागिएको हो।

अत्येष्टिअघि आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए।

उनका अनुसार १ बजेसम्म श्रद्धान्जलीका लागि राखेर त्यसपछि आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ।

आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएकाआचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्।

आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओली लगायत राजनीतिकर्मी,  संगीतकर्मी र सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

फागुन १५, २०८० मंगलबार ०७:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।