बालकुमारी घटनाको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मेवारी मन्त्रीद्वय गुरुङ र बस्नेतलाई

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मेवारी मन्त्रीद्वय गुरुङ र बस्नेतलाई

काठमाडौं : सरकारले बालकुमारी घटनाको प्रतिवेदनलाई अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न कानुन मन्त्री धनराज गुरुङ र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘यो समितिले बालकुमारी घटनाबारे प्राप्त प्रतिवेदन अध्ययन गर्नेछ र कार्यान्वयनका सन्दर्भमा सरकारलाई सिफारिस गर्नेछ,’ उनले भनिन्।

गत पुसमा बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

यस घटनामा छानबिन समितिले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई दोषी रहेको भन्दै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। त्यसैलाई टेकेर मन्त्री ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ।

फागुन १४, २०८० सोमबार २०:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।