कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दा पर्‍यो

कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दा पर्‍यो

काठमाडौँ : दोहोरी गीत सम्बन्धी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

उनी विरुद्ध इन्द्रेणी कार्यक्रमकै पूर्व कलाकारले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाएर यौन प्रस्ताव राखेको उनको दाबी छ। एक साताअघि इन्द्रेणीबाट निष्कासनमा परेका ती कलाकारसहितका ६ जनाले कँडेलविरुद्ध विभिन्न आरोप लगाउँदै आएका थिए।

कँडेलले पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्दै गत शुक्रवार ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।

टेलिभिजन हुँदै युट्युबमा इन्द्रेणी कार्यक्रम चलाउँदै आएका उनले सहयोगका नाममा विभिन्न व्यक्तिहरूबाट पैसा उठाउने गरे पनि उनले न उठाएको रकमको विवरण सार्वजनिक गर्छन् न खर्च विवरणै।

उनीमाथि आर्थिक अपारदर्शिताको आरोप समेत लाग्दै आएको थियो। तर पछिल्लो समय यौन दुर्व्यवहार गरेको, ह्यारेसमेन्ट गर्ने गरेको लगायतका आरोप लागेको थियो। सामाजिक सञ्जालबाट सुरु भएको आरोप प्रत्यारोप आइतबारबाट अदालतमै पुगेको छ। 

फागुन १४, २०८० सोमबार १९:३७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।