लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनबारे पूर्व अर्थमन्त्री पौडेलले लिए ‘ब्रिफिङ’

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनबारे पूर्व अर्थमन्त्री पौडेलले लिए ‘ब्रिफिङ’

बुटवल : पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने अत्याधुनिक नयाँ भवनबारे विस्तृत जानकारी (ब्रिफिङ) लिएका छन्।

पूर्व अर्थमन्त्री पौडेलले सोमबार सो अवसरमा अस्पतालको नयाँ बन्ने अत्याधुनिक संरचनासहितको भवन निर्माणको काम अघि बढाउन निर्माण कम्पनी फिल्डमा खटिसकेको जानकारी लिए।

निर्माण कम्पनीले भवन निर्माणका लागि यहाँ रहेका पुराना भवन तथा संरचनाहरू हटाउन सुरू गरेको छ। जोखिमरहित तरिकाले उपचारमा कुनै बाधा नहुने गरी पुराना संरचनाहरूलाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरू भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए।

उनका अनुसार यो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नै समन्वय गरेर हटाउने तयारी थालेको छ। पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई घेराबारा गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरूका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको मेसु डाक्टर थापाको भनाई छ।

आयोजनाको जानकारी लिँदै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे। कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराउँदै उनले गुणस्तरीय काममा जोड दिए।

प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैय्याको आधुनिक अस्पतालको भवन निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रुपन्देहीमा यति ठूलो आकारको बजेटको आयोजना अरू कुनै नभएको भन्दै पूर्व अर्थमन्त्री पौडेलले यस आयोजनालाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि समेत आफूले पहल गर्ने बताए। आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले यस आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको दाबी गरे।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको छ। निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।

यस क्षेत्रको एक सय १४ वर्ष पुरानो यो अस्पताल योजना बनेको लामो समयपछि निर्माणको बाटो खुलेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत नयाँ भवनको निर्माण कार्य अगाडि बढेको हो।

अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्ने भएको छ। ६ बिघा १२ कट्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर छविराज पोखरेलले बताए।

हालको तीन सय (समितिबाट थप भएका समेत गरी ५ सय) शैय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार २०० शैय्याको क्षेत्रीय बहु-अनुसन्धानात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको इन्जिनीयर पोखरेलको भनाई छ।

विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो।

प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शैय्याको अस्पताल निर्माण गर्ने प्रस्ताव गरेको र सबै प्रक्रिया पूरा भएर निर्माण कार्य सुरू हुने चरणमा पुगेको इन्जिनियर पोखरेलले बताए। उनका अनुसार एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबैखाले सुविधासहितको विशेष अस्पताल भवन निर्माणको प्रस्ताव गरिएको हो।

नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा ओपिडी, इमर्जेन्सी, इनडोर सर्भिस कक्ष रहनेछन्। साथै, विशिष्टिकृत ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन्।

हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने मेसु थापाको भनाइ छ।

भवनको माथि हेलिप्याडसमेत रहने उल्लेख गरिएको छ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।

प्रतिष्ठित अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता भएको हो। अस्पतालमा अहिले तीन सय बेडको सरकारी र एक सय बेड समितितर्फ गरी चार सय बेड स्वीकृत भएको भए पनि पाँच सय २४ बेड सञ्चालनमा रहेको छ।

अस्पतालमा बहिरङ्ग सेवाहरूमा जनरल मेडिसिन, न्यूरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोग सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले बताए।

४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध दिँदैआएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।

१४ फागुन, २०८०, १९:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।