कमेडी च्याम्पियनले विशालको ‘निन्द्रा’ गायब, निर्णायकबाट गोल्डेन बजरको ‘दुरुपयोग’
काठमाडौँ : बिचरा विशाल भण्डारी। कहिले दुःखले निन्द्रा गायब, कहिले खुसीले। चलिरहेको कार्यक्रम खोसियो, ल्याउँछु भनेको कार्यक्रम कहिले प्रसारण हुने पत्तै भएन। अनि निन्द्रा गायब। टप ३० प्रतिस्पर्धी चयन गरेर ग्राण्ड प्रिमियर भएको पहिलो एपिसोड ट्रेन्डिङमा। फेरि निन्द्रा गायब।
कमेडी च्याम्पियन सिजन ३ को टप ३० प्रतियोगीमध्ये ६ जनाको प्रस्तुती भएको कार्यक्रम प्रसारण भएको दुई दिनदेखि ट्रेन्डिङमा छ। अहिले विशाललाई कहाँ निन्द्रा परेको होला र!
त्यतिकै कार्यक्रम ट्रेन्डिङमा परेको भने हैन, फिजिकल अडिसनमा सहभागीमध्येबाट ३० जना छानेर प्रसारण भएको पहिलो एपिसोड धेरै कोणबाट उत्कृष्ट थियो। प्रतिस्पर्धीको कन्टेन्ट अनि प्रस्तुतिसँगै क्षेत्र, वर्ग, भाषा अनि लैङ्गिक रूपमा समेत कार्यक्रम निकै सन्तुलित थियो।
यस अगाडिका रेकर्डेड कार्यक्रमको स्टुडियो झुर थियो। तर टप ३० पछि प्रयोग भएको स्टेज पनि झकास् देखिएको छ।
रौतहटका अमेन्द्र राय यादव, काठमाडौँबाट इन्दु लम्साल र सुनिल खड्का, काभ्रेका कर्मा सिंह लामा, सुनसरीका रिसभ काफ्ले अनि दैलेखका लोमन सागर रेग्मी पहिलो एपिसोडमा देखिए। योजनै बनाएका हुन् या संयोग, पहिलो एपिसोडको सबैभन्दा असल पक्ष नै समावेशी सहभागी देखियो।
हुन त प्रतिभाको चयन क्षेत्र, भाषा अनि जात वा लिङ्गको आधारमा गर्नु हुन्न भनिन्छ। तर समाजको प्रतिनिधित्व गर्ने हो भने कहिलेकाहीँ सकारात्मक विभेद आवश्यक पर्छ। भोलिका दिनमा प्रतिभाको आधारका को अगाडि बढ्छन् अनि को छुट्छन् त्यो अलग विषय भयो। तर प्रारम्भमा त यी सबैको ख्याल गर्नै पर्छ।
पहिलो एपिसोडमा त्यसको सकारात्मक छनक देखियो। अब यसमा निर्माण टिमले दिमागै लगाएका हुन् या संयोग त्यो त बाँकी २६ प्रतियोगीबाट देखिने छ नै।
यो सिजनबाट आयोजकले निर्णायकहरुलाई विशेष अधिकारका रूपमा गोल्डेन बजरको सुविधा दिएका थिए। रियालिटी सोहरूमा गोल्डेन बजर नयाँ हैन। ३० प्रतिस्पर्धीबाट १६ जना मात्र छानिने कार्यक्रममा पहिलो एपिसोडका ६ प्रतियोगीमध्ये पाँच जनाले गोल्डेन बजर पाएर सिधै दोस्रो चरणमा जाँदा विशेषाधिकारको सदुपयोगभन्दा दुरुपयोग भएको देखियो। ३० जनामा ६ जनाको प्रस्तुति प्रतिशतकै आधारमा पनि कति नै हो र! तर १६ मध्ये पाँच पहिल्यै छानिनु ठुलै प्रतिशत हो नि। ३० मा १६ छानिनेमा उनीहरू हतारिँदा अब २४ जनामा ११ जना मात्र छानिने छन्।
अब ६ प्रतियोगीको प्रस्तुतितिर जाऊँ। पहिला आए अमेन्द्र राय यादव। रौतहटका उनले आफ्नो प्रस्तुतिको विषय रौतहट अनि नेपालका मधेसवासीको राष्ट्रियताको सङ्घर्षलाई बनाएका थिए। उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनि र्यापर भिटेनलाई कमेडीको विषय बनाएर बढो सटीक व्यङ्ग्य गरे।
‘रौतहटवासीले माधव नेपाललाई हराउँदै हराउँदैनन्। एक पटक झुक्किएर हराएका थिए, प्रधानमन्त्री भए। अब फेरि हरायो भने त राष्ट्रपति नै बन्लान्’ भन्दै रोचक व्यङ्ग्य गरे। रौतहटको शिक्षालाई समेत व्यङ्ग्यको विषय बनाएका उनले’ न्याय नपाए गोर्खा जानु, एसएलसी पास हुनुछ भने रौतहट जानु’ भनेर शिक्षा क्षेत्रमा रहेको विकृति सार्वजनिक गरेर गोल्डेन बजर पाए।
काठमाडौंकी इन्दु लम्सालले आफ्नै शारीरिक उचाइलाई व्यङ्ग्यको विषय बनाइन्। पञ्च लाइन डेलिभरी र कन्टेन्टमा कमजोरी देखिए पनि यतिको प्रतियोगी स्ट्याण्डअप कमेडीको मञ्चमा पुग्नु गोल्डेन बजर लायकै हो। पाइन् पनि। तर यसपछिका चार प्रतियोगीमध्ये एक जना बाहेक अन्यको हकमा गोल्डेन बजरको सही सदुपयोग भएको देखिएन।
काठमाडौँका सुनिल खड्काले नेपाली फिल्म क्षेत्रमा महत्त्व दिइने स्ट्रग्लरको शैली र काठमाडौँवासी हुनुको पीडा पोखे। फिल्म निर्माण टिम अझ निर्णायक रहेका प्रदीप भट्टराईको महाजात्रामा प्रडक्सन टिमका सदस्य रहेका उनले फिल्म क्षेत्रमा गर्नुपर्ने सङ्घर्षहरू रोचक पारामा प्रस्तुत गरेका थिए। ६ जनामध्ये उनको प्रस्तुति गोल्डेन बजर पाउने तहको नदेखिए पनि पाए। उनलाई बढी प्रिभिलेज दिएको हो या क्षमताको आधारमा हो भन्ने बाँकी २४ जनाको प्रस्तुतिले निर्धारण गर्ने नै छ।
अर्का काभ्रेका कर्मासिंह लामाले चोरको क्यारेक्टरलाई लिएर गरेको प्रहसन भने बडो दमदार थियो। उनको प्रस्तुति गोल्डेन बजर लायक थियो। उनले पनि गोल्डेन बजर नै पाए।
सुनसरीका रिसभ काफ्लेले आफ्नो बढ्दो तालुपन र मध्यमबर्गिय परिवारको प्रवृत्तिबारे राम्रो प्रस्तुति दिए। उनको पञ्च लाइनमा समस्या देखियो। प्रारम्भमा यतिको प्रस्तुती दिनु राम्रो संकेत हो। तर गोल्डेन बजर दिएर उनलाई टप १६ मा पठाइहाल्न हतारिनुपर्ने थिएन कि!
दैलेखका लोमन सागर रेग्मीले पब्लिक हेल्थलाई केन्द्रमा राखेको प्रस्तुतिमा एक्सप्रेशन र भुममेन्ट प्राकृतिक देखिएन। उनको कन्टेन्टमा समस्या देखिएन तर प्रस्तुति शैली अलि नसुहाउँदो देखिएको थियो। ताली मज्जाले पाए। तर गोल्डेन बजर पाएनन्।
कार्यक्रमले राम्रो प्रतिक्रिया पाउनु भनेको भोलि उही स्तर कायम गर्ने चुनौती पनि हो। यसमा भण्डारी टिम कत्तिको सफल हुन्छ त्यो भविष्यलाई नै छाडौँ। यही रफ्तार कायम राख्न सके भने चैं रियालिटी सो खर्लप्प खाने देखियो। तर शो चलाउने लोभमा होस्टको नक्कली झगडालाई भाइरल बनाउने वा मेन्टरहरु डबल मिनिङतिर लागे भने चैं नतिजा उहीँ हो।
फागुन १४, २०८० सोमबार १८:३६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।