संसद् भवन प्रवेश गर्ने ४ दर्जन बढी लघुवित्त पीडित प्रहरी नियन्त्रणमा, छानबिन गर्न समिति गठन

संसद् भवन प्रवेश गर्ने ४ दर्जन बढी  लघुवित्त पीडित प्रहरी नियन्त्रणमा, छानबिन गर्न समिति गठन

काठमाडौं : देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला लघुवित्तहरू नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन्।

सोमबार संसद् भवन प्रवेश गरेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। संसद् बैठक चलिरहेको बेला उनीहरूले नाराबाजी समेत गरेका छन्।

उनीहरुले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ। तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्। 

संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

यसैबीच, यस घटनाबारे छानबिन गर्न समिति बनेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको हो। समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन्।

१४ फागुन, २०८०, १७:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।