बिउ राखेर उत्तिसको मुढा हेर्दाहेर्दै नौ महिना कट्यो, अब बाल्दिन्छु भनेर जाँदा त लहलह सिताके

बिउ राखेर उत्तिसको मुढा हेर्दाहेर्दै नौ महिना कट्यो, अब बाल्दिन्छु भनेर जाँदा त लहलह सिताके

प्लस टु पढ्न थालेका विकास देशार बिहान कलेजबाट फर्केपछि दिनभर फुर्सदिलो भए। अब बाँकी समय के गर्ने ? धेरै विकल्पबारे सोचेपछि निर्णय गरे' अब च्याउ खेती गर्छु।'  

त्यसबेला चापागाउँमा च्याउ खेतीको अलग्गै क्रेज  थियो। हरेक टोलमा च्याउको लागि पराल ल्याउने, काठ तयार गर्ने र अस्थायी टहरा बनाउने लहरै चलेको थियो। त्यही देखेर होला, उनले अरू काम गर्नेबारे सोच्दै सोचेनन्।

बाआमा त पहिले देखिनै कृषि गर्दै आएका हुन्। विकासले त्यही कृषिमा पनि च्याउ थप्ने सोचे। आफ्नै घरमा भएका सामानहरू प्रयोग गर्दै च्याउको बिउ रोपे। त्यतिबेला धान सुकेपछिको पराल पनि बाँकी थियो। छिमेकमा अरूले गरेको भरमै खेती गर्ने आँटेका उनीसँग न कुनै तालिम थियो न योजना नै। उनलाई त बस च्याउको बिजनेस गर्ने जोश थियो। 

'नौ/दस महिनासम्म त च्याउ फल्ने छाँटकाँट नै देखिएन। ला! अब उम्रिँदैन होला भन्ने लागेको थियो,' सम्झिँदै उनले भने, 'उत्तिसको मुढामा बिउ हालेको थिएँ। नउम्रिने भएपछि अब बाल्नुपर्ला भन्नेसम्म सोच आयो। खासै वास्ता गरिन। पछि के भयो कुन्नि मज्जाले च्याउ उम्रियो। अनि धैर्य भनेको यस्तो रहेछ भन्ने महसुस गरेँ।'

च्याउ फल्न थाले पनि त्यो कतिको गुणस्तरीय छ? खानु हुने हो कि होइन? भन्नेमा उनी अलमलिए। त्यसबेला विषादी च्याउको बारेमा  व्यापक चर्चा भइरहेकै थियो। विषालु पर्यो भने त बर्बाद हुने भइहाल्यो।

'अनि बिउ ल्याएको ठाउँमै सोध्न गएँ। पछि पो सिताके च्याउ रहेछ भन्ने थाहा भयो। सिताके गुणस्तरको हिसाबमा सबैभन्दा राम्रो मानिन्छ,' उनले भने।

पत्ते र डल्ले च्याउ हरेक महिनाजसो फलिरहेको समयमा सिताके च्याउलाई वर्ष दिनसम्म पर्खनु पर्दा त्यसबेला छट्पट हुन्थ्यो रे उनलाई। तर, अहिले भने स्वाभाविकै मान्छन्। अहिले पनि उनी अन्य भन्दा सिताके च्याउलाई नै बढी समय दिन्छन्। सिताकेको प्रजातिको लागि उनले पाँच वर्षसम्म पर्खेका छन्।

'सिताकेको बजार मूल्य र माग राम्रो '

सिताके जापानीज नाम हो। यसलाई नेपालीमा मृगे च्याउ भनिन्छ। विशेषगरी पूर्वी एसियामा पाइने र खान योग्य यस च्याउलाई जडिबुटीको रूपमा प्रयोग गरिन्छ। चिसो ठाउँको हावापानी यसको लागि उपयुक्त हुनेहुँदा चापागाउँका धेरै कृषक यसमा आकर्षित भइरहेका छन्। 

नरम काठमा उत्पादन हुने यसको लागि कटुस, ओखर, उत्तिस लगायतको काठ आवश्यक हुने र पछिल्लो समय भने रुद्राक्षको मुढामा पनि राम्रै भइरहेको उनले सुनाए।

सेताकेको तुलनामा पत्ते च्याउ र डल्ले च्याउमा विषादीहरू पनि प्रयोग गर्नुपर्ने र बजार मूल्य पनि कम भएको उनको अनुभव छ। अलि समय दिनुपरे पनि सेताकेको बजार माग र मूल्य पनि राम्रो भएकाले उनी यसमै लोभिए। अहिले उनी सिताकेको पनि विभिन्न प्रजातिहरूमा आफैले सकेसम्मको परीक्षण गरिरहेका छन्।

'सिताके त पूरै अर्ग्यानिक भएन भने उत्पादन पनि हुँदैन। यो जसको लागि पनि उपयुक्त हुन्छ। यसको माग र बजार पनि धेरै छ,' उनले भने। 

किलोको १६ सयसम्म पर्ने सिताकेको बिउ एकपटक मुढामा राखेपछि त्यो काठ नकुहिएसम्म त्यसमा च्याउ आइरहने उनले बताए। वार्षिक हजार किलो उत्पादन गर्ने उद्देश्य राखेका उनले अहिले आठ सय किलोसम्म सिताके उत्पादन गरिरहेका छन्।

अहिले चापागाउँमा व्यक्तिगतसँगै सामूहिक खेती पनि सुरू भएको रहेछ। त्यसैले पनि यहाँका कृषकहरू संगठित भएर  खेती गर्न पाउँदा खुसी छन्। 

'अहिले लगानी भन्दा पनि मुख्य कुरा धैर्यता हो। बाँकी भएको त आफैं मिल्दै जाने रहेछ,' उनले भन्दै गए, 'अहिले धेरै ठाउँ पनि चाहिँदैन। एक त यहाँ पनि सबै जग्गा प्लटिङ हुँदैछ। अरू ठाउँमा भन्दा उपयुक्त हावापानी अझै पनि हामीले प्रयोग गर्न पाइरहेका छौं। गाह्रो त छ। बिउ रोप्ने बेला खट्नुपर्छ। त्यसपछि त पानी हाल्ने, हेर्ने न हो।'

पत्ते च्याउ सस्तो भएको र छिटो उत्पादन हुने भएकाले उनले फेरि त्यसमा पनि ध्यान दिन थालेका छन्। उनले वार्षिक लगभग छ/सात हजार किलो पत्ते च्याउ उत्पादन गर्ने गरेका छन्। उनले छोटो समयमै आफ्नै ग्राहक पनि बनाइसकेका छन्। मंगलबजार र महालक्ष्मीको हाटबजार लगायतमा उनले च्याउ पठाउँछन्। बाँकी भनेको उनले सबै अनलाइन बाटै बेच्ने हो।

'एक केजी भन्दा माथि हो भने काठमाडौँको रिङ्गरोड भित्र डेलिभरी गर्छु। अनलाइन डेलिभरीको लागि हरेक दिन बिहान दुई घण्टा छुट्याएको छु,' उनी सुनाउँछन्, 'अनि समय बाँकी भयो भने अरू ठाउँमा पनि सप्लाइ गर्न जान्छु। त्यसपछि त प्राय फिल्डमै हुन्छु। च्याउ हेर्ने, पानी हाल्ने।'

पारिवारिक खेती!

परिवार नै च्याउ खेतीमा लागेकाले विकासलाई अहिले पनि सहजै छ। उनकी श्रीमती च्याउ खेती गर्नुअघि अस्पतालमा काम गर्थिन्। तर, अहिले उनी जागिर छोडेर खेतीमै लागेकी रहिछन्। 

'मैले पनि स्कुल पढेसम्म अरू काम नै गरिँन। सिधै यता हात हालेपछि यताको यतै भइयो,' विकास भन्छन्।

बिस्तारै ग्राहकको संख्या बढ्दै थियो। व्यवसाय राम्रै थियो। तर, २०७२ सालको भुकम्पले उनलाई नराम्रोसँग ढलायो। पछि बिस्तारै उठ्दा उठ्दै फेरि कोभिडले खेती नै ठप्प बनाइदियो। त्यसबेला उनी बेरोजगार भएर बसे, जागिर खाए। जीवनयापन गर्नै गाह्रो भएपछि विदेश जानेसम्म सोचे।

'झन्डै विदेश गइसकेको थिएँ। तर, कोभिडपछि धेरै मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन थाले। च्याउको माग अत्यधिक हुन थाल्यो,' खुसी हुँदै उनले भने, 'त्यसभन्दा अगाडि त मासुको सट्टा खाने हो भनेर च्याउलाई चिनिन्थ्यो। अहिले त च्याउ नै खाने भन्छन्। अनि मैले पनि आँटेर ऋण लिँदै खेतीमा लगानी गर्न थाले।'

अहिले उनको परिवारले च्याउको सिजनमा च्याउ खेती गर्ने र अफ सिजनमा अन्य तरकारी अनि धान खेतीसमेत गर्छन्। तरकारीको लागि उनीहरूलाई बजारमा भर पर्नुपर्ने अवस्था छैन। अहिले त उनले बिउ समेत उत्पादन गरेर त्यसको व्यापार गर्दै आएका छन्।

'हामीले सबै आफ्नो लागि आफै बिउ बनाउने हो। हरेक वर्ष जसो च्याउको लागि मुढा पनि दुई/तीन सय थप्दै लान सकेको छु,' उनले भने, 'काठ पनि हामीले बन फाँडेर ल्याउने होइन। दाउराको भाउमा ल्याउने हो। फर्निचरले प्रयोग नगर्ने। त्यही भएर काठ पाउँदैन, महँगो छ भन्नेमा पनि टाउको दुखाइ भएन।'

बाहिरी जिल्लातिर उनले आफ्नो च्याउ दिन नपाए पनि उपत्यका भित्रको कारोबारले पुगेको बताउँछन्। असिना पर्दा र हावाहुरी आउँदा बाहेक अन्य सिजनमा त्यति धेरै क्षति पनि नभएको उनले अनुभव गरेका रहेछन्। भर्खर ३६ वर्ष मात्र भएका विकासको कृषि क्षेत्रमै केही नयाँ काम गर्ने रणनीति देखियो। 

'सिक्दै, परीक्षण गर्दै लानु छ'

'अरू च्याउ त भइनैहाल्यो। अब सिताकेलाई नै अझै फोकस गर्ने इच्छा छ। एसी हालेर यसलाई बाह्रै महिना उत्पादन गर्न सकिन्छ कि भनेर पनि परीक्षण गर्न मन छ,' उनी भन्छन्, 'अब यो च्याउ तरकारी मात्र नभएर शरीरको प्रतिरक्षाको लागि पनि प्रयोग हुने सम्भावना देखिएको छ। त्यही भएर के-कसरी हुन्छ स्थानीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने तयारीमा लाग्नु पर्ला।'

गोदावरी नगरपालिका अन्तर्गत पर्ने चापागाउँमा धेरै कृषकहरू अहिले पनि प्रत्यक्ष खेतीमा जोडिएका छन्। तर, अन्य पालिकाले जस्तै यहाँ पनि थोरै कृषकहरूलाई मात्र सम्बोधन भइरहेको उनीहरूको गुनासो छ। विकासका अनुसार यहाँ मात्र दुईसय परिवारले च्याउ खेती गर्छन्।

'प्रोत्साहन नगरेको होइन तर साँच्चिकै कृषकहरूको लागि अझै राम्रो भएको छैन। देखाउनलाई मात्र सहयोग गरेको जस्तो गर्न त भएन नि। हामी लहलहैमा खेती गर्ने त होइनौ नि,' उनले भने।

उनले अहिले च्याउ खेतीबारे तालिम पनि दिने गरेका छन्। वडा र पालिकास्तरबाट च्याउ खेतीको लागि उनी विभिन्न बाहिरी जिल्ला पनि पुग्ने गर्छन्। तर, तालिममा आकर्षण भए जस्तो खेतीमा भने नयाँ पुस्ता आकर्षित नभएको उनले बताए। 

'सुरुवात नभए पनि नेपालभर गोलो च्याउको लागि हाम्रो ठाउँ फेमस छ। तर, त्यसको लागि पर्याप्त जग्गा सबै प्लटिङ भयो अनि अहिले त पराल पनि पाउँदैन। त्यसैले स्थानीय सरकारले अलि माथिसम्म सोचेर काम गर्यो भने पक्कै पनि हामी कृषकहरू त खुसी हुने थियौँ ,' उनी भन्छन्, 'त्यति भएपछि त नयाँ पुस्ता पनि आकर्षित होला नि। एक त धैर्य गर्नुपर्ने। त्यसमाथि सुविधा छैन भने नयाँ पुस्ता किन आउँथ्यो र हैन?'

फागुन १४, २०८० सोमबार १९:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।