क्यानले क्रिकेट खेलाडीको पारिश्रमिक बढायो, पुरुषको हकमा मासिक एक लाख, महिलालाई ५० हजार

क्यानले क्रिकेट खेलाडीको पारिश्रमिक बढायो, पुरुषको हकमा मासिक एक लाख, महिलालाई ५० हजार

काठमाडौँ : नेपाल क्रिकेट संघले खेलाडीहरूको नयाँ वर्गीकरण गर्दै पुरुष खेलाडीको हकमा मासिक पारिश्रमिक एक लाख पुर्याएको छ। महिला खेलाडीको हकमा भने मासिक ५० हजार तोकेको छ।

फागुन १२ देखि १४ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकले ग्रेड ए मा परेका खेलाडीहरूको हकमा मासिक पारिश्रमिक एक लाख पूर्याएको हो।

पुरुषतर्फ ३० जना खेलाडीको ग्रेडिङ गर्दै रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल ए ग्रेडमा परेका छन्।

महिलातर्फ जम्मा तीन खेलाडी मात्रै ग्रेड ए मा परेका छन्। इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ए ग्रेडमा परेको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले बि ग्रेडमा रहेका पुरुष खेलाडीलाई ७० हजार, सी मा रहेकालाई ५५ हजार, डी मा रहेकालाई ३५ हजार र इमर्जिङ क्याटोगरिमा रहेकालाई मासिक २५ हजार दिने निर्णय गरेको छ।

बी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा रहेका छन्। सी मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन्। डी मा पवन सर्राफ, सागर ढकाल, अनि साह,विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।

इमर्जिङ क्याटोगरीमा दीपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, बिपिन खत्री, देर्ब खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छन्।

महिला टोलीमा रहेका ११ खेलाडीको वर्गीकरण गर्दै क्यानले ए ग्रेडमा रहेकालाई मासिक ५०, बी मा रहेकालाई ३५, सी मा रहेकालाई ३०, डी मा रहेकालाई २५ हजार र इमर्जिङ क्याटोगरीमा रहेकालाई मासिक २० हजार पारिश्रमिक तोकेको छ।

ए मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर छिन्। बी मा एक जना कविता कुँवर छिन्। सी मा पूजा महतो र आश्मिन कर्माचार्य छन् भने डी मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छिन्।

यसैगरि इमर्जिङ क्याटोगरीमा सोनी पार्खिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन्।

फागुन १४, २०८० सोमबार १४:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।