सुन तस्करीमा जोडिएपछि फरार पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ पक्राउ

सुन तस्करीमा जोडिएपछि फरार पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ पक्राउ

काठमाडौं : १४ किलो सुन तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धानको दायरामा रहेका पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका सल्लाहकार जीवनकुमार गुरुङ पक्राउ परेका छन्।

सुन तस्करीमा संलग्न रहेको आशङ्कामा प्रहरीले उनको खोजी सुरु गरे लगत्तै फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।

उनी डिल्लीबजार कालिकास्थानमा रहेको प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष समेत हुन्। पुन उपराष्ट्रपति पदमा रहँदा उनी सल्लाहकार थिए।

मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको घटनाको अनुसन्धानकोक्रममा मीन घले जोडिएका थिए।

अनुसन्धानमा मीन घले र जीवन गुरुङबिच नियमित संवाद भएको देखिएपछि गुरुङको संलग्नताबारे अनुसन्धान गर्दा उनी सो तस्करीको मुख्य योजनाकार देखिए। उनी र उपराष्ट्रपतिका छोरा दीपेश पुन समेत निकट सम्बन्ध देखिएको छ।

सो घटनाको अनुसन्धानकैक्रममा उनी फरार भएपछि प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौँमा  मुद्दा दायर भएको थियो।

पर्वत स्थायी घर भएका जीवनकुमारलाई पक्राउ गर्न पुर्जी जारी भए लगत्तै उनी फरार भएका थिए। उनी सोमबार काठमाडौंको सामाखुसीमा पक्राउ परेका हुन्।

फागुन १४, २०८० सोमबार १३:१७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।