बनमै फ्याकिन्छन् उद्योगका फोहोर, लुम्बिनीका दुवै औद्योगिक क्षेत्रमा छैनन् ट्रिटमेन्ट प्लान्ट
बुटवल : औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूबाट उत्सर्जित भएको फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सकस भएको छ।
औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूबाट निस्कने रसायन सहितको उत्सर्जित फोहोर व्यवस्थापनमै उद्योगहरूले चासो दिएका छैनन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरूले पनि यसको निवाकरण गर्न कुनै कदम चाल्न सकेका छैनन्।
लुम्बिनी प्रदेशमा बुटवल औद्योगिक क्षेत्र र नेपालगञ्ज औद्योगिक क्षेत्र गरी दुई ठूला औद्योगिक क्षेत्र हुन्। यी दुवै औद्योगिक क्षेत्रमा फोहोरमैला व्यवस्थापनको दिगो समधान हुन सकेको छैन।
औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूले उद्योगबाट निस्कने फोहोर सहजै ढलमा मिसाउने गरिएको छ। जसका कारण मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत असर पर्ने गरेको छ।
बुटवल औद्योगिक क्षेत्रभित्र प्लाष्टिकजन्य सामान, विद्युतीय तार तथा सामानहरू, माइक्रो हाइड्रो तथा गोवरग्यास प्लान्ट, साबुन, मेटलका भाँडावर्तन, बीआई तथा प्लाष्टिकका पाइप फिटिङ, फलाम तथा आल्मुनियमको फेव्रिकेसन, आयुर्वेदिक औषधि, मसला, दुग्ध पदार्थ, किलाकाँटी, कुलर, लेगगार्ड तथा हेलमेटलगायतका सामान उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन्।
त्यी उद्योगबाट हानिकारक रासायनिक पदार्थहरू ठोस, तरल, ग्याँस तथा विकिरणका रूपमा उत्सर्जन हुने गर्दछ। नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र पनि अधिकांश उद्योग पानी, मेटल, पाईप, काठका उद्योग रहेका छन्। उनीहरूले पनि फोहोरमैला खुल्ला स्थानमै फ्याक्ने गरेका छन्।
उद्योगहरूबाट उत्सर्जित फोहोरमैला व्यवस्थापनका साथै तरलपद्धार्थको निर्मलीकरण एवं प्रशोधनका लागि ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ (रासायनिक पानीको प्रशोधन गर्ने यन्त्र) बुटवल र नेपालगञ्जका दुवै औद्योगिक क्षेत्रहरूले जडान गरेका छैनन्। उद्योगहरू स्वयंले पनि प्लान्ट जडान गरेका छैनन्।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रकाश अधिकारीले औद्योगिक क्षेत्रभित्रको सामान्य फोहोर नगरपालिकाबाट उठाउने र अरु फोहोर वनमा फ्याक्ने गरेको बताए। उनले फोहोर व्यवस्थापन औद्योगिक क्षेत्र लिमिटेडले नै गर्ने भए पनि बुटवल औद्योगिक क्षेत्र पुरानो भएकाले यहाँ ट्रिटमेन्ट प्लान्ट जडान नभएको बताए।
औद्योगिक क्षेत्रमै एउटा विशाल ट्रिटमेन्ट प्लान्टको आवश्यकता महसुस भए पनि त्यसको ठोस पहल हुन सकेको छैन। कार्यालय प्रमुख अधिकारीले अब नयाँ बन्ने औद्योगिक क्षेत्रमा ट्रिटमेन्ट प्लान्ट जडान गर्नुको विकल्प नभएको बताए।
‘बुटवलको बस्ती भन्दा केही टाढा औद्योगिक क्षेत्र भएकाले यसबाट प्रत्यक्ष मारमा जनताहरू परेका छैनन्,’ उनले दाबी गरे, ‘उद्योगबाट धुँवा, धुलो निस्केपनि वन नजिक हुँदा वातावरणमा पनि धेरै प्रभाव परेको छैन।’
उनले औद्योगिक क्षेत्रभित्र बढी पानी प्रयोग गरेर बस्तुको उत्पादन गर्ने उद्योगहरू कम भएको र धेरै मेटल उद्योगहरू भएकाले औद्योगिक फोहोर व्यवस्थापनको विषय बढी पेचिलो नभएको तर्क गरे।
औद्योगिक क्षेत्रभित्र रहेको लुम्बिनी दुग्ध संस्थानले प्रशोधन गरेको पानी सिधा सडक नजिकको नालीमा मिसाउँछ। यसबारे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय जानकार भएपनि नियमन गर्न भने सकेको छैन।
कार्यालय प्रमुख अधिकारीले अरु प्रदेशमा औद्योगिक फोहोर व्यवस्थापन चुनौती भएपनि बुटवलको हकमा भने त्यस्तो नभएको तर्क गरे।
‘हामीकहाँ मेटल उद्योगहरू धेरै छन्। कवाडी पनि त्यहिभित्र बिक्छ। पगाल्ने काम पनि भित्रै हुन्छ। पानी कन्जुम धेरै गर्ने उद्योगहरू नहुँदा त्यति धेरै समस्या यहाँ छैन’, उनले भने।
अहिले औद्योगिक क्षेत्रभित्र रहेका लिट्मस केवल र लुम्बिनी दुग्ध संस्थानले मात्र बढि पानीको प्रयोग गरेका छन्।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्राईले सामान्य फोहोर नगरपालिकाले व्यवस्थापन गर्ने र वातावरण प्रदुषण हुने खालको फोहोर औद्योगिक क्षेत्रमा नभएको बताए।
नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र पनि फोहोरमैला व्यवस्थापनको दिगो समाधान हुन सकेको छैन। नेपालगञ्ज औद्योगिक क्षेत्रबाट निस्किने धुुवाँ र ध्वनि प्रदूषण रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशले पाँच वर्षअघि नै परमादेश जारी गरेको थियो।
नेपालगञ्ज ओद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रकाश केसीले औद्योगिक क्षेत्र भित्रको फोहोर व्यवस्थापन आफैँले गरेको बताए। २३० रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र भित्र ३४ वटा उद्योगहरू छन्।
‘पहिले केही फोहोरको, प्रदुषणको समस्या थियो। तर अहिले चिम्नी राखेर प्रदुषण कम भएको छ। अहिले धेरै सुधार भएको छ’, उनले भने।
आईई गरेर भित्रियो पशुबधशाला
औद्योगिक क्षेत्रभित्र रहेका कुनै पनि उद्योगहरूले वातावरण प्रदुषण मूल्याङ्कन (आईई) गरेका छैनन्। आईई गर्नुपर्ने कानुन नबन्दै औद्योगिक क्षेत्रमा उद्योगहरू थिए। त्यसपछि भने जग्गा साघुँरो भएकाले नयाँ उद्योगहरू औद्योगिक क्षेत्रभित्र जान पाएका छैनन्।
हालै मात्र औद्योगिक क्षेत्रकै जग्गामा पशु बधशाला सञ्चालनमा आउने तयारी छ। पशुबधशाला भने आईई गरेर स्थापना भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख अधिकारीले बताए।
बधशालाले ट्रिटमेन्ट प्लान्ट समेत जडान गरेको छ। पानीको मात्रा बढी प्रयोग गर्ने भएकाले ट्रिटमेन्ट प्लान्ट पनि बधशालाले जडान गरेको उनले बताए। अधिकारीका अनुसार बधशालाले २ इन्चको पाइपबाट पानी लगेको छ।
फागुन १४, २०८० सोमबार १३:१५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।