सशस्त्र द्वन्द्वमा परेका दम्पत्तीको कथामा ‘सिटामोल’, सौगात र बेनिशाको मुख्य भूमिका

सशस्त्र द्वन्द्वमा परेका दम्पत्तीको कथामा ‘सिटामोल’, सौगात र बेनिशाको मुख्य भूमिका

काठमाडौं : फिल्म ‘झ्यानाकुटी’का जोडी सौगात मल्ल र बेनिशा हमालले फेरि एकपटक सहकार्य गरेका छन्।

राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सिटामोल’मा सहकार्य गरेका हुन्। जुन फिल्मको २५ दिनमा छायांकन सकिएको छ।

निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकनबाहेक फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। २५ दिनअघि सिन्धुलीबाट छायांकन थालिएको थियो।

२०५२ सालबाट सुरू भएको सशस्त्र द्वन्द्वमा परेका एक दम्पतीको कथामा आधारित फिल्म ‘सिटामोल’मा सौगात र बेनिशाले मुख्य भूमिका निर्वाह गरेका छन्।

तोकिएको समय अगावै फिल्मको छायांकन सकाएकी बेनिशा यतिबेला एक हिन्दी फिल्मको सुटिङका लागि भारतमा छिन्।

फिल्मको गीत र केहि सिन खिचेपछि फिल्मको डबिङमा लाग्ने निर्देशक सानेले बताए। उनका अनुसार फिल्मको प्रदर्शन आगामी तीजको अवसर पारेर गरिने छ।

फिल्मको सुटिङ सकिएपछि निर्माण टिमले सुटिङ सेटमा खिचिएका सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ। जहाँ सौगातको गोडामा गोली लागेको छ भने उनको सहारा बनेर बेनिशा उभिएकी छन्।

सार्वजनिक भएका तस्वीरले द्धन्द्धकालिन घटनालाई झल्को दिएको देखिन्छ। फिल्मको केहि तस्विरहरूले यतिबेला दर्शकमाझ फिल्मप्रति उत्साह पैदा समेत गरेको छ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।

निर्देशक साने आफैँले लेखेको फिल्मको कथामा बाबुल गिरीको संगीत रहने निर्माण पक्षले जानकारी दिएको छ।

भुगोल कुमार कार्की निर्माता रहेको फिल्ममा रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्। यो फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन्।

फागुन १४, २०८० सोमबार १२:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।