एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख विपक्षी दल एमालेले अवरोध सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकको सुरुमै एमाले लगायत प्रतिपक्षी दलका सांसदहरू मन्त्रीहरूको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद् गोकुल बास्कोटालाई बोल्न समय दिएका थिए। 

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलेका थिए।

उनीहरू दुग्ध किसानलाई भुक्तानी दिनुपर्ने, विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले हटाउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने र लघुवित्त पीडितहरूको माग सुनुवाइ हुनुपर्ने विषय सदनमा उठाएका थिए।

लामिछानेले बोलेपछि एमालेले पुनः उठेर विवादित मन्त्रीहरूको राजीनामा नआएसम्म र प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउँदै बैठकमै नाराबाजी गरेका थिए।

एमाले सांसद्हरूले ‘दुग्ध किसानहरूलाई भुक्तानी दे’, ‘संसदीय मर्यादा कायम गर’, ‘मिटरब्याज पीडितहरूलाई न्याय दे’, ‘विवादित मन्त्रीहरूलाई बर्खास्त गर’ लगायतका नाराबाजी गरेका थिए।

नाराबाजीकै बीच सभामुख घिमिरेले सांसदहरूलाई कार्यसूचीलाई अगाडि बढाउन दिन आग्रह गरेका थिए। तर एमाले सांसदहरूको अगाडि सभामुखको जोर चलेन र बैठक १५ मिनेटका लागि स्थगित भयो।

फागुन १४, २०८० सोमबार ११:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।