फागुन २५ मा तीन फिल्म : रेखाप्रति आक्रोशित नवल भन्छन्- ‘देशलाई माया नगर्नेहरूले फिल्म जुधाउन आए’

फागुन २५ मा तीन फिल्म : रेखाप्रति आक्रोशित नवल भन्छन्- ‘देशलाई माया नगर्नेहरूले फिल्म जुधाउन आए’

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एकैदिन दुई वा तीन फिल्म प्रदर्शन हुनु नौलो विषय रहेन अब। तोकिएको मिति भन्दा एक वा दुई साता अघिपछिका मिति खाली भएपनि निर्माताहरू एउटै मितिमा दुई वा तीन फिल्मसम्म जुधाउन थालिसकेका छन्।

आगामी फागुन २५ गते तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन्। अभिनेत्री रेखा थापाले निर्माण गरेको ‘उपहार’, नवल खड्काको फिल्म ‘काँडेतार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ एकसाथ प्रदर्शनमा आउँदा हलका शोहरू पनि बाँडिएका छन्।

एक वर्षअघि नै आफूले निर्माताहरूसँग सल्लाह गरेर नै आफूले प्रदर्शन मिति तोकेको काँडेतार निर्माता नवल खड्का बताउँछन्।

यता अभिनेत्री रेखा थापा भने फागुन २५ मा अन्य फिल्म प्रदर्शन हुने थाहा नपाएकाले प्रदर्शन मिति तोकिएको बताइन्। माघ २६ गते फिल्म रिलिजको तयारी गरे पनि केही कामहरू नसकिएको र ज्योतिषलाई देखउँदा फागुन २६ गते राम्रो हुन्छ भनेकाले अब प्रदर्शन मिति सार्न नसकिने उनको भनाइ छ।

‘मलाई त्यो (काँडेतार) फिल्म लाग्दैछ भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘खासमा हामीले हाम्रो फिल्म माघको २६ गते रिलिज गर्ने तयारी थियो तर काम सकिएन। त्यसपछि ज्योतिषलाई देखाउँदा नारी दिवस र शिवरात्री भएकाले राम्रो छ भनेपछि फागुन २५ गते डेट राखिएको हो।’

उनले यसअघि पनि एकै दिनमा चार देखि पाँचवटा सम्म फिल्महरू एकैपटक भिड्दै आएको बताइन्। आफ्नो फिल्म पछि सार्दा कथा पुरानो हुने उनको तर्क छ।

‘फिल्म बैशाखमा रिलिज गर्ने कि भन्ने कुरा पनि भएको हो तर त्यतिबेलासम्म कथावस्तु धेरै नै पुरानो हुने भएपछि फागुन २५ को मिति तोकिएको हो,’ उनले थपिन्, ‘अब यो समयमा कस्को फिल्म छ, के छ भन्ने कुरा नै भएन नि! दुई/तीन वटा फिल्म यसै पनि जुधिरहेकै हुन्छन् त हलहरूमा।’

आफ्नो फिल्मसँग जुध्न आएको भन्दै निर्माता तथा निर्देशक समेत रहेका अभिनेता नवल खड्का आक्रोशित छन्। फिल्म ‘रंगेली’प्रति खासै नबोलेका उनी रेखा थापा र उनको फिल्म ‘उपहार’प्रति भने अलि बढी नै आक्रोशित देखिएका हुन्।

सामाजिक सञ्जाल र युट्युबरसँगको अन्तर्वार्तामा उनले बच्चा जन्माउन अमेरिका गएको भन्दै टिप्पणी गरेका छन्।

खड्का ‘काँडेतार’का निर्देशक तथा अभिनेता मात्र होइनन्, चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन्। उनले यस विषयमा छलफल गरेर सहमतिमा अगाडि बढ्नुको साटो आफैँ आवेशमा बोलिरहेका छन्।

उनले एकलौटी फिल्म प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै चलचित्र विकास बोर्डमा समेत उजुरी हालेका छन्। तर, बोर्डले यसबारे खासै चासो दिएको छैन।

केहि दिन अघि अभिनेता खड्काले रेखा थापा लक्षित गर्दै भनेका थिए, ‘देशलाई माया नगर्नेहरू, देशलाई डेरा बनाउन चाहनेहरू नै फिल्म जुधाउन आएका छन्। उहाँहरू कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ पत्ता लगाउनुहोस्, उनीहरू कोबाट सञ्चालित छन्? हामी यही देशमा बस्न पर्छ, सन्तान यही जन्माउन पर्छ र यो देशलाई सुनौलो भविष्य सुम्पनुपर्छ भन्ने मान्छे हौँ।’

उनी यतिमा मात्र रोकिएनन्, निर्माता संघको अध्यक्षको मर्यादा भुलेर उनी रेखामाथि खनिँदै भनेका थिए, ‘हामी पलायन हुने वा कुनै अमुक देशमा गएर बच्चा जन्माउने र नागरिकता लिनेमा पर्दैनौँ।’

रेखा डेलिभरी हुनुभन्दा एक महिनाअघि अमेरिका उडेपछि उनीमाथि आफ्नो सन्तान नेपालमै जन्माउन नचाहेको र उतैको नागरिक बनाउन लागेको आरोप लाग्दै आएको छ। यसको जवाफमा उनले आफू कसैको ढुकुटी रित्याएर अमेरिका नआएको बताउँदै यसलाई सामान्य रुपमा लिनुपर्नेमा जोड दिइन्।

परिवार नै अमेरिका भएकाले आफू अमेरिका आएको रेखाले बताइन्। बच्चा जन्माउनका लागि अमेरिका सहज लागेकाले आफू उता गएको उनको भनाइ छ।

फिल्म ‘उपहार’ र ‘काँडेतार’का निर्माता र निर्देशकबीच टक्कर भइरहँदा सोही मितिमा आउने अर्को फिल्म ‘रंगेली’ले भने सामान्य रूपमा  प्रचारलाई तीव्रता दिइरहेको छ। रंगेलीका मुख्य कलाकार अन्य फिल्मको छायांकनमा व्यस्त भएकाले पनि यसको प्रचार खासै देखिएको छैन।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको रंगेलीमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल मुख्य भूमिकामा छन्।

फागुन १४, २०८० सोमबार ११:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।