राष्ट्रपति जेलेन्स्कीले भने- रुसको आक्रमणबाट ३१ हजार युक्रेनी सैनिक मारिए

राष्ट्रपति जेलेन्स्कीले भने- रुसको आक्रमणबाट ३१ हजार युक्रेनी सैनिक मारिए

एजेन्सी : रुसको आक्रमणबाट युक्रेनका ३१ हजार सैनिक मारिएका छन्।

युक्रेनका राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीले आइतबार यसबारे जानकारी दिएका हुन्। रुसको सैन्य योजनालाई सहयोग पुग्ने तर्क गर्दै उनले घाइतेको संख्या भने खुलाउन चाहेनन्।

रुसका राष्ट्रपतिले सार्वजनिक गरेको विवरणभन्दा धेरै मानिसको हताहती भएको हुनसक्ने आँकलन सार्वजनिक भइरहेका छन्।

पश्चिमी देशको आधा सहायता ढिला आउँदा जनधनको व्यापक क्षति भएको रक्षामन्त्रीको भनाइपछि राष्ट्रपति जेलेन्स्कीका यो बयान आएको हो।

रुसले मृतकको संख्या बढाएर भनेपछि आफूहरूले एकीन तथ्याङ्क उपलब्ध गराएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

‘पुटिन र उनका मण्डलीले १ लाख ५० हजार हजार वा तीन लाख मान्छे मारेको भनिरहेका छन्, त्यो सरासर झुट हो,’ उनले भने, ‘यस युद्धमा ३१ हजार युक्रेनी सैनिमा मारिएका छन्। यसबाट हुने प्रत्येक नोक्सान हाम्रो लागि एकदमै ठूलो हो।’

युद्धका व्यापक क्षति भएको बताउँदै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनी क्षेत्रमा हजारौं नागरिक मारिएको र त्यसको एकीन तथ्याङ्क अज्ञात भएको बताएका छन्।

जेलेन्स्कीले रुसका करिब १ लाख ८० हजार सेना मारिएको दाबी गरेका छन्।

अगस्टमा अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको तथ्याङ्कमा ७० हजार युक्रेनी सैनिक मारिएको र १ लाख २० हजार घाइते भएको बताएका थिए।

उनीहरूले ४५ हजार रुसी सेनाको मृत्यु भएको बताएका थिए।

फागुन १४, २०८० सोमबार ०८:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।