इलाम र बझाङमा वैशाख १५ गते उप-निर्वाचन

इलाम र बझाङमा वैशाख १५ गते उप-निर्वाचन

काठमाडौं : प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य रिक्त रहेको एक-एक पदको उपनिर्वाचन आगामी वैशाख १५ गते हुने भएको छ।

निर्वाचन आयोग पदाधिकारीको आइतबारको बैठकले रिक्त रहेको दुई पदको निर्वाचन आगामी वैशाख १५ गते शनिबार गर्ने निर्णय गरेको हो।

आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार नेपाल सरकारसँगको परामर्शमा आयोगले उपनिर्वाचनको मिति तोकेको हो।

प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ र प्रदेश सभा सदस्यतर्फ बझाङ-१ (१) रिक्त छ। एमाले संसदीय दलका उपनेतासमेत रहेका प्रतिनिधि सभा सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-१ रिक्त भएको हो।

त्यसै गरी प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन हुँदा बझाङ १ (१) रिक्त भएको हो। प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा निर्वाचन प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको हकमा निर्वाचन आयोगले नेपाल सरकारसँगको परामर्शमा उपनिर्वाचनको मिति तोक्ने कानुनी व्यवस्था छ।

फागुन १४, २०८० सोमबार ०८:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।