एक मिनेटको फरकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

एक मिनेटको फरकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा शुरू हुनेछ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ।

यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ।

यस्तै विधायन व्यवस्थापन समिति  सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९\८० सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्नेछिन्। 

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

फागुन १४, २०८० सोमबार ०७:२०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।